News

Nov 10, 2011

सबै जिल्ला प्रशासन कार्यालयबाट राहदानी पाईने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सबै जिल्ला प्रशासन कार्यालयबाट राहदानी आवेदन लिने र सोही कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था परराष्ट्र मन्त्रालय अन्तर्गतको केन्द्रीय राहदानी कार्यालयले मिलाएको छ। शुक्रबारबाट सबै जिल्ला प्रशासन कार्यालयबाट राहदानी पाईने बताईएको छ। यसअघि राहदानीका लागि राजधानी धाउनुपर्ने बाध्यता थियो। केन्द्रीय राहदानी कार्यालयका उपसचिव तेजबहादुर क्षेत्रीले 'कात्तिक २५ गतेबाट राहदानी आवेदन फारम बुझ्ने जिम्मेवारी ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको जानकारी दिए। उनका अनुसार फारमअनुसार परराष्ट्रले बनाएका राहदानी वितरण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयले नै पाएको छ।यो व्यवस्थाअनुसार अब ७५ वटै जिल्लाका सर्वसाधारणले आफ्नै जिल्लाबाट 'साधारण सेवा' अन्तर्गत (पाँच हजार रुपैयाँ राजस्व बुझाएर) राहदानी लिन सक्नेछन्। द्रुत सेवाअन्तर्गत (१० हजार रुपैयाँ बुझाएर) राहदानी लिन भने काठमाडौं नै आउनुपर्छ। द्रुत सेवा केन्द्रीय राहदानी कार्यालयबाट मात्र पाउन सकिने जनाइएको छ।'अब केन्द्रीय राहदानी कार्यालयले साधरण सेवाअन्तर्गतका आवेदन फाराम प्रत्यक्ष बुझ्दैन,' क्षेत्रीले भने। कार्यालयले द्रुत सेवाअन्तर्गतका फारममात्र बुझ्नेछ।'हस्तलिखित राहदानी बन्द गरी एक वर्षअघिबाट एमआरपी वितरण प्रारम्भ गरेको परराष्ट्रले सुरुका केही महिना केन्द्रीय राहदानी कार्यालयबाट मात्र वितरण गरेको थियो। वितरण केन्द्रीकृत हुँदा भिड लागेपछि परराष्ट्रले काठमाडौं, ललितपुर र भत्तपुर तीनै जिल्लाबाट आवेदन फारम बुझ्ने र राहदानी वितरण गर्ने निर्णय गरेको थियो। परराष्ट्रले साउन १ बाट ३८ जिल्ला प्रशासनलाई राहदानी फारम बुझ्ने र वितरण गर्ने जिम्मा दिएको थियो।

No comments: