News

Nov 25, 2011

नक्सा पासै नगरी काठमाडौं मल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ८ कर्मचारी सञ्चयकोषको लगानीमा बनेको काठमाडौं मल नियमविपरीत रहेको महानगरले जनाएको छ । अन्डरग्राउन्डसहित आठ तला रहेको मलको नक्सा पास छैन । व्यापारिक भवनको नक्सा पास नगरी बनाउँदा पनि महानगरले कारबाही गर्न सकेको छैन । सरकारी निकायले बनाएको भन्दै छुट दिएको छ । १० वर्षअघि निर्माण सुरु भएको भवनको डिपिसीसम्म निर्माणका लागि अस्थायी स्वीकृति लिए पनि नक्सा पास नगरेको महानगर नक्सा शाखाका इन्जिनियर सुरज शाक्यले बताए ।'काठमाडौं मलको अस्थायीबाहेक स्थायी नक्सा पास भएको छैन,' उनले भने, 'स्वीकृतिको लागि पहलसमेत भएको छैन ।' सरकारी निकायले व्यापारिक प्रयोजनका लागि बनाएको भवनको नक्सा पास नगर्दा पनि महानगरले कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको छैन । महानगरमा मलको अस्थायी नक्सा पास भएको फाइलसमेत सम्बन्धित फाँटमा छैन । 'सर्वसाधारणले नक्सा पासबिना घर बनाएको भए महानगरले भत्काइसक्थ्यो,' एक प्राविधिकले भने, 'सरकारी निकाय र पहुँचवालाको भएकाले कारबाही गर्ने कसैले आँट गर्न सकेको छैन ।'
अस्थायी नक्साको म्याद दुई वर्षको मात्रै हुन्छ । घर बनाउनुअघि अस्थायी नक्सा पास गर्नुपर्ने हुन्छ । दुई वर्षभित्र घर नबनाए सुरुदेखिको प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । काठमाडांै २२ वडामा रहेको भवन नियमविपरीत बनेको शाक्यले बताए । नक्सा पास नगरेको भए पनि प्रक्रिया पुर्‍याएर नियमअनुसार ल्याउन सकिने उनले बताए । त्यसका लागि मापदण्डअनुसार भवन बनेको भए राजस्व र जरिवाना तिरे पुग्छ । मापदण्डविपरीत भए कारबाहीको प्रक्रियाअनुसार महानगरलाई घर भत्काउनेसम्मको अधिकार छ ।

No comments: