News

Nov 25, 2011

भारतले सय मेगावाट बिजुली दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ८,भारतले नेपाललाई थप सय मेगावाट बिजुली दिने भएको छ । जलस्रोतसम्बन्धी द्विपक्षीय सचिवस्तरीय दुईदिने वार्ताको पहिलो दिन बिहीबार नयाँदिल्लीमा भारतीय अधिकारीले नेपाली पक्षको आग्रह स्वीकार्दै थप बिजुली दिने जनाएको हो । नेपाली टोलीका प्रमुख एवं ऊर्जा सचिव बालानन्द पौडेलका अनुसार बिजुली दिने मितिबारे भने शुक्रबार मात्र टुंगो लाग्नेछ । हाल रहेका प्रसारण लाइन सामान्य मर्मतमात्रै गरे पनि दुई/तीन महिनाभित्र थप सय मेगावाट बिजुली भारतबाट ल्याउन सकिने निष्कर्षमा हालै दुवै मुलुकका प्राविधिक अधिकारी पुगेका थिए । काठमाडौंमा हालै भारतीय पावर ट्रेडिङ कर्पाेरेसन र पावर गि्रड भारतका अधिकारीहरू तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीबीच भएको छलफलपछि प्रसारण लाइन मर्मतपछि ३ सय ६९ मेगावाट बिजुली भारतबाट नेपाल पुर्‍याउन सकिने टुंगो लागेको थियो । हाल नेपालले भारतबाट १२० देखि १३४ मेगावाटसम्म बिजुली लिइरहेको छ । भारतीय पक्षले ऊर्जा व्यापार सम्झौता छिटो अघि बढाउन नेपालले गरेको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएको पनि पौडेलले बताए । 'भारतीय पक्षले २०११ भित्रै नेपालीपक्षको प्रस्तावबारे धारणा दिने बताएको छ,' उनले भने । बैठकमा नेपालले दोस्रो सीमा वारपार प्रसारण लाइन निर्माण प्रस्ताव गरेको थियो । बुटवल र गोरखपुर जोड्ने ४०० केभीको उक्त प्रस्तावित प्रसारण लाइन निर्माणप्रति पनि भारतीयपक्ष सकारात्मक रहेको नेपाली अधिकारीले जनाए । मुजफ्फरपुर र ढल्केबर जोड्ने प्रसारण लाइन नेपाल र भारतबीचको पहिलो सीमा वारपार प्रसारण लाइन हो । भारतीय पक्षले पञ्चेश्वर विकास प्राधिकरणको टर्मस् अफ रेफेरेन्सबारे तीन महिनाभित्र टुंगो लगाउने प्रतिबद्धता जनाएको भारतका लागि नेपालका कार्यवाहक राजदूत खगनाथ अधिकारीले जानकारी दिए । बैठकमा भारतीय पक्षले कोसी आयोजनामा आफ्ना कर्मचारीको सुरक्षाबारे चिन्ता जाहेर गरेको थियो । जवाफमा नेपाली अधिकारीले पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने आश्वासन दिएका थिए ।मन्त्रीस्तरीय बैठक २०१२ को पूर्वार्द्धमा आयोजना गर्ने गरी तयारी थाल्ने सहमति पनि बैठकमा भएको छ ।

No comments: