News

Nov 8, 2011

अलपत्र परेका साढे ११ सय पर्यटक ल्याइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २२ - एक सातादेखि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकहरूले सोमबार राहतको सास फेर्ने मौका पाए । मौसममा आएको सुधारसँगै ओसार्ने कार्य तीव्र भएपछि सोमबार मात्रै ११ सय ४९ विदेशी पाहुना राजधानी भित्रिएका छन् । विमान कम्पनी तारा, अग्नि, सीता र नेपाल वायु सेवा निगमले काठमाडौं-लुक्लाका लागि ५७ उडान गरेको त्रिभुवन विमानस्थल, आन्तरिकतर्फका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए । त्यस्तै हेलिकप्टर कम्पनीहरूले काठमाडौं-लुक्लाको १५ वटा सीधा उडान गरे । 'हेलिकप्टरले बढीजसो उडान लुक्ला-सुर्के-लामिडाँडा-काठमाडौंसम्म गरेका छन्,' चुडालले भने । यस दिन सबैभन्दा बढी पर्यटक तारा एयरलाइन्सले ल्याएको छ । ताराले लुक्ला-काठमाडौं ४ सय ३५ तथा लामिडाँडा-काठमाडौं १९ जनालाई ल्याएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धरले जानकारी दिए । अग्निले २ सय ५५ नेपाल वायु सेवाले ९५, सीता एयरले ९० पर्यटकलाई ल्याए । नेपाली सेनाको स्काई ट्रकले लामिडाँडाबाट ५१ जनालाई ल्यायो । 'सेनाको एमआई १७ ले सोमबार बिहानै एक टि्रपमा २८ जनालाई लुक्लाबाट ल्याएको थियो,' मानन्धरले भने । हेलिकप्टर कम्पनीमा माउन्टेनले ६५ पर्यटकलाई त्रिभुवन विमानस्थल झार्‍यो । त्यस्तै सिमि्रकले ६०, फिसटेलले ४१ र डाइनास्टीले १० जना पर्यटन ल्याए । आइतबार ३ सय ६६ र शनिबार ८१ लाई काठमाडौं ल्याइएको थियो । आइतबारसम्म गरिएको उडानपछि ६ दिनदेखि अलपत्र परेकामध्ये १३ सय पर्यटक उक्त क्षेत्रमा अझै रहेको जानकारी पर्यटन व्यवसायीहरूले दिएका छन् । मौसम सफा रहिरहे मंगलबारदेखि बुधबारसम्म सबै काठमाडौं आइपुग्ने छन् । केही पर्यटक उडान सुरु हुनु अगावै हिँडेर जिरी पुगेकाले दुई दिनभित्र ल्याइसकिने प्राधिकरणको भनाइ छ । कात्तिक १४ गतेदेखि मौसम बिगि्रएपछि हवाई उडान अवरुद्ध हुँदा सगरमाथा क्षेत्रमा पदयात्राका लागि गएका ३ हजार ५ सय पर्यटक लुक्लामा अलपत्र परेका थिए । चार दिनसम्म कुनै हवाई उडान नभएपछि समस्यामा परेका पर्यटकलाई ओसार्ने कार्य छैठौं दिनदेखि सुरु भएको थियो । एक सातामा लुक्ला र पोखरा गरी ३ सय उडान रद्द भएका थिए ।

No comments: