News

Nov 10, 2011

४३ जना तीर्थयात्री चढेको ट्र्याक्टर दुर्घटना, १८ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, कात्तिक २४- धनुषाबाट बराह क्षेत्र दर्शन गर्न आएका तीर्थयात्री चढेको ट्रयाक्टर सुनसरी भरैला-२ को सुनसरी-मोरङ सिंचाई आयोजनाको नहरमा पल्टिँदा १८ जना तीर्थयात्रीको निधन भएको छ। दुर्घटनामा परी मर्नेमध्ये १६ महिला, एक बालक र एक पुरुष छन्। ज १ त ४५५३ नम्बरको ट्रयाक्टर झण्डै २० मिटर तल नहरमा खस्दा मेला भर्न आएका तीर्थयात्रीको निधन भएको हो। मर्नेमध्ये १७ जनाको मात्रै सनाखत भएको छ। दुर्घटनामा परी मर्ने सबै धनुषाको तारापट्टी सिर्सिया वडा नं. ४ र ५ का छन्। दुर्घटनामा परी मृत्यु भएका सबैको लाश प्रक्रिया पुर्‍याएर धनुषा पठाइने पूर्वाञ्चल क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले बताए। खतिवडासहित पूर्वाञ्चल क्षेत्रीय सुरक्षा प्रमुखहरुको टोली घटनास्थलको निरीक्षण गरेका छन्। खतिवडाका अनुसार चाँडै नै सुरक्षा समितिको बैठक बसेर मृतक परिवारका आफन्तलाई राहत रकम दिइनेछ। ४३ जना सवार ट्रयाक्टर दुर्घटनामा परी नहरमा डुबेका मध्ये केही तत्काल पौडिएर बाँच्न सफल भए भने बाँकीलाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पौडिएर बाँच्न सफल भएका र उद्धार गरिएकामध्ये १८ जनाको जिल्ला अस्पताल इनरुवा र तीन जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। ट्रयाक्टर चालक भोगेन्द्र मुखिया फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे छानबिन गरिने पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआइजी सुरेन्द्र साहले बताए। 'घटना कसरी हुन गयो? भन्नेबारे अहिलेसम्म कसैले बताउँन सकेको छैन्। घटनाबारे छानबीन हुनेछ,' उनले भने।

No comments: