News

Nov 4, 2011

'हङकङका नेपाली' वृत्तचित्र बिहीबार साँझ हङकङमा प्रर्दशित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
कार्तिक १८ - हङकङेली नेपालीका संघर्ष र सफलताबारे छापाहरूमा धेरै लेखिए । यस्तै कथा व्यथालाई चलाएमान तस्बिरमा समेत हेर्ने चाहना भए वृत्तचित्र 'हङकङका नेपाली' तपाईका निम्ति राम्रै खुराक हुनसक्छ । लामो समयदेखि हङकङेली नेपालीकाबारे कलम चलाउदै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको उक्त वृत्तचित्र बिहीबार साँझ यहाँ प्रर्दशित भएको छ । तीनवर्ष अघिको एकमहिने हङकङ बसाईमा देखे भोगेको हङकङेली नेपाली समाजलाई यिनले जिवन्त पस्केका छन् । प्रवासको संघर्ष र सफलताभित्रै मातृभूमिप्रति देखाइएको मायालाई पनि वृत्तचित्रले उजागर गर्ने प्रयत्न गरेको छ । सामान्य कामदारबाट व्यापार व्यावसायीका रुपमा बेग्लै पहिचान बनाएका नेपालीहरूको लोभलाग्दो कथा सर्घषरत जोकोहीका लागि प्रेरणादायी बन्नसक्छ । सात समुद्रपारिको यो वैभवशाली सहरमा नेपालका विभिन्न जातजाति धर्म, भाषा, संस्कृति, रहनसहन, भेषभूषा र गीतसंगीत जिवन्त देखिन्छन् । छोटै सही वृत्तचित्र यी यावत पक्षहरूलाई समेटन सफल भएको छ ।
'हङकङेलीहरूमा आफ्नो देश, भाषा र संस्कृतिप्रति लोभलाग्दो मोह पाए', वृत्तचित्र बनाउनुको कारण खोतल्दै निर्देशक श्रेष्ठले भने, 'अन्य मुलुकमा बस्नेहरूका लागि पनि हङकङ बुझ्न सहयोगी हुने ठानेर डकुमेन्ट्री बनाएको हुँ ।' ३२ घण्टा खिचिएको फिल्मबाट हङकङका विविधताहरूलाई एकैथलोमा समेटी ९० मिनेटको बनाउनु निकै चुनौतीपूर्ण भएको अनुभव समेत उनले सुनाए । सम्पादन कार्यमा मात्र दुई लाख रुपैयाँ खर्च भएको वृत्तचित्र हङकङपछि धरान, पोखरा, काठमाण्डौ, र लण्डनमा समेत देखाउने योजना रहेको उनले बताएका छन् । 'फिल्म फेस्टिभलमा पनि समावेश गर्ने सोचमा छु', उनले हौँसिदै भने । आयोजक नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले सिमित समयमा बनाइएकाले कतियय कुरा छुटेका भएपनि समग्रमा नेपाली समाजका विविध पक्ष छुन सफल भएको बताएका छन् । 'एक पत्रकारको हङकङ चिनाउने प्रयास निकै सहृानिय छ', वृत्तचित्रका एक पात्र व्यावसायी कमल पौडेलले भने, 'तर सबै कुरा एकै ठाउँमा मिसाउदा देखाउन खोजिएका कुरा पूर्ण नभएको अनुभूति भयो ।' एभरेष्ट मिडिया लिमिटेडको प्रस्तुतिमा बनेको वृत्तचित्रका निर्माता सरिता श्रेष्ठ र छायांकार तथा सह-निर्माता मातृदीप राई हुन् । आलोक अधिकारीको सम्पादन रहेको डकुमेन्ट्रीमा पाश्र्व संगीत कुटुम्ब समूहको रहेको छ ।

No comments: