News

Sep 19, 2008

प्रधानमन्त्री राष्ट्रसंघको ६३ औं महासभामा भाग लिन जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ जाने हुनुभएको छ । प्रधानमन्त्रीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डका साथ उहाँकी धर्मपत्नी सीता दाहाल रहनुहुनेछ । साथै प्रधानमन्त्रीका साथ मुख्य सचिव डा.भोजराज घिमिरे, प्रधानमन्त्रीका प्रमुख निजी सचिव शक्तिबहादुर बस्नेत, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापालगायत रहनुहुने जनाइएको छ ।सहस्राव्दी विकास लक्ष्यका सम्बन्धमा हुने उच्चस्तरीय कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भाग लिनुका साथै गरिबी र भोकसम्बन्धी गोलमेच छलफलमा भाग लिनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड अमेरिकी राष्ट्रपति र राष्ट्रसङ्घका महासचिवले आयोजना गर्नुहुने छुट्टाछुट्टै स्वागत समारोहमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।साथै प्रधानमन्त्री प्रचण्डले महासभा बैठकका अवसरमा श्रीलंका, टर्की र स्वीट्जरल्याण्डका राष्ट्रपति, बंलादेशका प्रमुख सल्लाहकार र क्युवाका प्रथम उपराष्ट्रपति तथा अन्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरुसंग भेटघाट गर्नुहुनेछ । उहाँले राष्ट्रसंघका महासचिव बान की मुनसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुनेछ ।प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा एसियाली समाज तथा न्यू स्कूल युनिभर्सिटीले आयोजना गर्ने छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड असोज १४ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ । स्वदेश फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डले जर्मनीको फ्रान्कफर्टमा नेपाली दूतावासद्वारा आयोजना गरिने युरोपस्थित नेपाली दूतहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुने जनाइएको छ ।

No comments: