News

Sep 17, 2008

भ्रमण उपलब्धिमूलक तर गृहकार्य अपुग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को भारत भ्रमणको उपलब्धिलाई विभिन्न राजनीतिक दलका नेताहरूले सकारात्मक भए पनि आवश्यक गृहकार्य नपुगेको टिप्पणी गरेका छन्। सञ्चार समूहद्वारा बुधबार राजधानीमा आयोजना गरिएको प्रधानमन्त्रीको भारत भ्रमण अवसर र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी प्रमुख दलका नेताहरूले सो टिप्पणी गरेका हुन्। कार्यक्रममा नेकपा (एमाले)का नेता केशव बडालले परराष्ट्र नीति कुनै पार्टीवशेषको नभई राष्ट्रिय हुनुपर्ने र दुइ देशको सम्बन्धलाई राजनीतिक विषय बनाइन नहुने बताउनुभयो। प्रधानमन्त्रीको भ्रमण सद्भावका लागि भएकाले दुइ देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो- सन्धि पुनरावलोकन गर्ने त भनियो तर अर्को सन्धि के कस्तो बनाउने हो गृहकार्य भएको छैन।’नेपाली कांगे्रसका प्रवक्ता अर्जुननरसिंह केसीले २०५२ सालमा माओवादीले प्रस्तुत गरेको ४० सूत्रीय मागमध्ये नौवटा माग भारतसँग सम्बन्ध राख्ने भए पनि अहिले आफू सरकारमा जाँदा ती मागलाई बिर्से आरोप लगाउँदै देशभित्रै लगानी मैत्री र सुरक्षाको प्रत्याभूति नभएसम्म भारतीय लगानी आकषिर्त गराउन नसकिने बताउनुभयो। माओवादीको हिजोको घोषणा र आजको कार्यन्वयनलाई तुलनात्मक रूपमा हेरिनुपर्ने जनाउँदै प्रवक्ता केसीले भन्नुभयो- गृहकार्यबिनाको भ्रमण हो यो। सन्धि पुनरावलोकन गर्ने कुरा नयाँ होइन।’कार्यक्रममा नेपाल सद्भावना पार्टी महामन्त्री देवेन्द्र मिश्र, मधेसी जनअधिकार फोरमका विदेश विभाग प्रमुख अर्जुन थापा, राजनीतिक विश्लेषक सोनामछिरिङ शेपा र कानुन व्यवसायी बोर्ण बाहादुर कार्कीले पनि भ्रमणका विविध पक्षमा बोल्नुभएको थियो।

No comments: