News

Sep 21, 2008

डुबान र पहिरोमा परी १२ जनाको मृत्यु, कैयौं बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केही दिनयताको अबिरल वर्षापछि आएको बाढीमा परी कैलाली जिल्लामा १० जनाको मृत्यु भएको छ । यस्तै गुल्मी जिल्ल्मा पहिरामा पुरिएर अन्य दुइजनाको मृत्यु भएको छ । डुबान तथा बाढीमा परी ४० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ । बाढी तथा डुबानबाट उक्त जिल्लाका धनगढी र टीकापुर नगरपालिका, फूलबारी, बेलादेवीपुर, गेटा, मालाखेती, हसुलिया लगायत स्थान बढी प्रभावित भएको जनाइएको छ ।रेडक्रस सोसाइटीको स्थानीय शाखाका अनुसार गेटा गाविस वडा ७ का कमली विक र एक बालकको मोहना नदीमा बगेर मृत्यु भएको छ । पहलमानपुर गाविसमा बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । निगाली गाविसमा पहिरोले पुरिएर १६ वर्षीया सुमन सिंह र पथरैया गाविसमा नदीमा डुबेर सुरेश डाँगाको मृत्यु भएको छ । कैलालीकै गोदावरी गाविसमा पहिरोले घर पुरिँदा दुइ बालकको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन । यसैबीच, पहिरोमा पुरिएर गुल्मी जिल्लामा दुइजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुर्घा गाविस, वडा ५ लौरेसिमलमा २६ वर्षीया गीता कुमाल र ७ वर्षीय उज्ज्वल कुवर भएको प्रहरीले जनाएको छ । पहिरोले बलबहादुर कुमालको घर पुरेको थियो । पहिरोका कारण अन्य ६ घरपरिवार विस्थापित भएको बामीटक्सार प्रहरी चौकीले जनाएको छ ।

No comments: