News

Jan 28, 2010

प्रा.डा.गोविन्दराज भट्टराई नेसाप्रको समारोहमा भाग लिन हङकङ आउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/देश सुब्बा
वि.सं. २०४८ देखि नै उत्तरआधुनिक चिन्तनको व्याख्यामा लागेका, डायास्पोराको लेखकहरूको किताब लेख्दै गरेका र सिमान्तकृत लेखकहरूलाई अगाडि ल्याउन लागिपरेका प्रा. डा. गोविन्दराज भट्टराई यही फेब्रुअरी ११ तारिखका दिन नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षीक समारोहमा भाग लिन हङकङ आउँदै हुनुहुन्छ । वहाँ अन्तराष्ट्रिय साहित्य समाजका सल्लाहकार पनि हुनुहुन्छ । नेपालको स्नातक प्रथम वर्ष नेपाली विषयमा भट्टराईको उत्तरआधुनिक विमर्शबाट हङकङको साहित्य गत वर्ष देखि पढाइ हुन थालेको छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रबाट सम्मान र पुरस्कृत भइसक्नु भएको छ । वहाँको उत्तरआधुनिक ऐनाले अन्तराष्ट्रिय साहित्य समाजबाट वितरण हुँदै आएको रु दुइ लाखको पुरस्कार पनि पाइसक्नु भएको छ । विश्वको विभिन्न देशमा छरिएका नेपालीहरूले लेखिरहेका साहित्यको मान्यता हुनुपर्छ भनेर त्यसैको लेखनमा केही वर्ष देखि सक्रियताका साथ लागिरहनु भएको छ । वहाँको हङकङ यात्रा त्यसैको निरन्तरता हो । हङकङमा वहाँले नेपाली डायास्पोरा, उत्तरआधुनिकता, हङकङमा नेपाली साहित्य विषयको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । वहाँको मुगलान, मणिपुरको चिठ्ठी, सुकरातका पाइलाहरू उपन्यास, तीनधारा कथा संग्रह, नेपाली ध्वनिशास्त्र भाषा विज्ञान, काव्यिक आन्दोलनको परिचय, पश्चिमी बलेंसीका बाछिटा, आख्यानको उत्तरा आधुनिक पर्यावलोकन उत्तर आधुनिक विमर्श, विदेशी बगैँचामा चार थुँगा फूल बालकथा, एक्लै एक्लै एक्लै, विश्व विद्यालयमा अग्निपूजा निबन्ध संग्रह र अनेकौँ नेपालीबाट अंग्रेजी भाषामा नेपाली पुस्तकहरूलाई विश्व साहित्यमा लगिरहनु भएको छ ।

No comments: