News

Jan 25, 2010

लिम्बुवान स्वायत्त नागरिक एकता समाज युकेको प्रेस बिज्ञप्ति

भखरै संबिधान सभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले १४ प्रदेशको प्रस्ताव गरि संबिधान सभामा बुझाएकोछ । सो प्रस्तावमा प्रदेशहरुमध्ये एक प्रदेशको नाम लिम्बुवान प्रस्तावित भएकोछ । लिम्बुवान प्रदेशको नाम प्रस्तावमा आउनु अत्यन्तै सकारात्मक हो । तर यति हुदाहुदै पनि लिम्बुवानको ऐतिहासिक सिमानालाई अतिक्रमण गरेर पश्चिम उत्तरको वर्तमान संखुवासभा जिल्लालाई किरात प्रदेशमा गाभेर र दक्षिण तर्फको वर्तमान झापा, मोरङ र सुनसरी जिल्लाका सम्पूर्ण तरार्इलाई बिराट प्रदेश वा मिथिला भोजपुरा कोच मधेश प्रदेशमा गाभेर अति प्राचीनकालदेखि भईरही आएको, ऐतिहासिक कालदेखि स्थापित भएर आएको लिम्बुवानको खुट्टा र पाता चाही काटी पठाएर लिम्बुवानलाई मुढा बनाइएकोछ । यसको हामी घोर बिरोध गर्दछौं ।
किनभने इस्वी सम्बत ६५० मा नै राजा मुङ माव रोङले उत्तरमा तिब्बत दक्षिणमा मिथिला पश्चिममा दुधकोशी नदी र पूर्वमा मेची नदी बीचको भूभागमा लिम्बुवान राज्यको स्थापना गरेका थिए । सन ८८० मा पश्चिम पटि्टको सिमाना अरुण कोशी नदीमा सरेको थियो । पूर्वको सिमाना सन १६०९ मा राजा लोहाङ सेनको पालामा टिष्टा नदीसम्म पुगेको थियो । सन १८१६ को नेपाल र तत्कालीन बृटिश इष्ट इन्डिया कंपनि बीच सुगौलिमा भएको सन्धि पछिमात्र लिम्बुवानको पूर्वतर्फको सिमाना मेची नदीमा सरेको र दक्षिण तर्फको सिमाना जलालगढदेखि हालको जोगवनि गलगलियामा सरेको पश्चिम तर्फको सिमाना साबिक अरुणकोशी नदी नै र उत्तर तर्फको सिमाना पनि साबिक तिब्बत नै रहेको हो । लिम्बुवानको यसतो ऐतिहासिक भूगोलको खाका थाहा हुदाहुदै र यही ऐतिहासिक भूगोललाई आधार बनाएर लिम्बुवान राज्यको पुनर्स्थापना गरिनुपर्छ भनेर माग राख्दै आम लिम्बुवानबासी जनताले गरीरहेको बलिदानीपूर्ण आन्दोलनको मर्मलाई बेपरबाह गरी लिम्बुवानको दाहिने कुम र दईवटै खुट्टा काटीपठाएर मुढा बनाएर समृद्ध लिम्बुवानलाई लंगडो असक्षम बनाइएकोछ । यसको ऐतिहासिक सिमानालाई अतिक्रमण गरिएकोछ ।
तर्सथ लिम्बुवानबासी आम जनताको चाहाना र मागलाई बुझेर कदर गरी ऐतिहासिक भूगोलको आधारमा बर्तमान ताप्लेजुङ , पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेरथुम र संखुवासभाहरुको नौ जिल्लाको क्षेत्रलाई लिम्बुवान भनि प्रस्तावित प्रस्तावलाई सच्याइयोस् भनि आग्रह गर्दछौं ।
यसको साथै एकिकृत मावोबादी पार्टीले ऐतिहासिक लिम्बुवानलाई टुक्राएर दक्षिणमा कोचीला र पश्चिमउत्तरमा किरात राज्य बनाएकोमा हामी मावोबादीको यस कार्यको घोर भर्त्सना गर्दै टुक्राएको भूभाग लिम्बुवानमा फिर्ता गरिनुपर्छ भनि आग्रह गर्दछौं ।

No comments: