News

Jan 22, 2010

नवलपरासी, माघ ७ ,माओवादी चौथो डिभिजनका अयोग्य लडाकूहरूको बिहीबार चौथो डिभिजन हेडक्वाटर झ्यालटुङडाडाबाट बिदाइ गरियो ।सिन्धुली, चितवनपछि तेस्रो चरण अन्तर्गत नवलपरासीको झ्यालटुङडाडा, हात्तीखोर, रामनगर जर्घा र रूपन्देहीको सैनामैना गरी चार शिविरमा रहेका ६२२ अयोग्य लडाकूमध्ये बिहीबार ३६१ जनालाई बिदाइ गरिएको चौथो डिभिजनका कमान्डर तेजबहादुर ओली (प्रतिक) ले बताउनुभयो ।चौथो डिभिजनमा रहेका ६२२ अयोग्य लडाकूमध्ये २६१ जनाले भने बहिर्गमन प्रक्रियाप्रति असन्तुष्टि जनाउदै यसभन्दा पहिले नै शिविर छाडिसकेका कमान्डर प्रतकिले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घ, सरकार, अनमिन र माओवादीबीच भएको सहमति अनुसार शिविरमा रहेका १८ वर्ष उमेर नपुगेका र शान्ति प्रक्रिया सुरू हुनुभन्दापछि भर्ना भएका गरी ६२२ अयोग्य लडाकूको बहिर्गमन भएको जनाइएको छ । २०६३ मङ्सिर ५ गते शान्ति पक्रिया सुरू हुनुभन्दा अघि १८ वर्ष उमेर नपुगेका र प्रक्रियापछि भर्ना भएका लडाकूलाई अनमिनले अयोग्य ठहर्‍याएको थियो । शान्ति प्रक्रिया सुरू हुनुभन्दाअघि भर्ना भएका २८२ पुरूष र १४२ महिलाको १८ वर्ष उमेर नपुगेको र शान्ति प्रक्रियापछि १६४ पुरूष र ३४ महिलालाई अनमिनले अयोग्य ठहर्‍याएको हो । आज चौथो डिभिजनबाट २३१ पुरूष र १३० महिलालाई बिदाइ गरिएको छ । बिदाइ हुने महिलाका अधिकांश दुई महिनादेखि तीन वर्षसम्मका बालबच्चा रहेका थिए । कार्यक्रममा माओवादी जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेवले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन अयोग्य लडाकूको बिदाइ गरिएको बताउनुभयो । सरकार शान्ति पक्रियालाई भाड्न चाहेको आरोप लगाउादै उहाले माओवादी जनमुक्ति सेनाले संयमता अपनाएर शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउने दृढता व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय अनमिनका प्रतिनिधि रोवर्ट वाइपरले अयोग्य लडाकू बहिर्गमनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मद्दत पुग्ने बताउादै बहिर्गमन भएका अयोग्य लडाकूलाई एक वर्षसम्म नया परिचयपत्र दिई तालिम व्यवसाय र रोजगारका लागि सम्पर्क गर्न आग्रह गर्नुभयो ।अयोग्य लडाकूलाई बिदाइका क्रममा अनमिनले दस हजार नगद, एक जोर कपडा, झोला र माओवादीले आफ्नो तर्फबाट बाह्र हजार रूपिया नगद गरी २२ हजार प्रतिव्यक्ति हस्तान्तरण गरी फूलमाला अबिर लगाएर बिदाइ गरिएको थियो । अयोग्य लडाकूलाई नौवटा बसमा राखी चौथो डिभिजन, अनमिन र सरकारी प्रतिनिधिले बिदाइ गरेका थिए । सरकारी प्रतिनिधिका रूपमा शान्ति मन्त्रालयका उपसचिव निरञ्जन उप्रेतीलाई सरकारी रवैयाका कारण आफूहरूलाई अयोग्य बनाइएको भन्दै कार्यक्रममा नाराबाजी गर्दै आफ्नो भनाइ राख्न नदिएपछि माओवादी डेपुटी कमान्डर बलदेवले अयोग्य लडाकूलाई सम्बोधन गरेपछि कार्यक्रमको अन्तिममा उप्रेतीले आफ्नो भनाइ राख्नुभएको थियो ।कार्यक्रमका सभापति चौथो डिभिजन कमान्डर तेजबहादुर ओली (प्रतिक) ले जनमुक्ति सेना शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्ण प्रतिबद्ध रहेको जनाउादै सरकारले अयोग्य लडाकूको अपमान गरेकोमा रोष प्रकट गर्नुभयो ।

No comments: