News

Jan 19, 2010

आपराधिक क्रियाकलापमा संलग्न ४ भारतीयसहित ५ जनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भैरहवा, ४ माघ : रुपन्देहीका विभिन्न स्थानमा आपराधिक क्रियाकलापमा संलग्न चार भारतीयसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गरी फिरौती लिने र लुटपाटमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- १ का नुरुद्दिन पठान, भारत महाराजगन्ज सुनौली बस्ने चिन्का तेली, सोही ठाउँका साहबुद्दिन तेली र दिलसाद मुसलमान तथा भारत नौतनवाका बिन्द सिंह रहेका छन् । उनीहरूले सिद्धार्थनगर नगरपालिका- १ निवासी इस्त्याक अहमद खानका नातेदारलाई अपहरण गरी ५० करोड फिरौती मागेका थिए । फिरौती नपाएपछि इस्त्याकका आफन्तलाई गोली प्रहार गरी घाइते बनाएका थिए । त्यसैगरी, प्रहरीले मानव बेचबिखन तथा ओसार-पसारमा संलग्न बुटवल बस्ने मनु राणा र सानुमाया शाहीलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । बुटवल-४ मा डेरा गरी बस्ने १७ वर्षीया निता पुन, १४ वषरीया गीता थापा र रुपन्देही दुधराक्षकी १५ वर्षीया कविता थापालाई ललाई-फकाई लैजान लागेको अवस्थामा ती दुवै पक्राउ परेका थिए । बेलहियाबाट पीडित र पीडकलाई पुस ३० गते पक्राउ गरिएको प्रहरी उपरीक्षक छविलाल बन्जाडे जोशीले बताए । त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेका चितवन मुग्लिन घर भएका टेकबहादुर थापा, पाल्पाका शिव थापा, बुटवल बेलबासका प्रवीण थापालाई पनि सार्वजनिक गरिएको छ । उनीहरूले बुटवलबाट लु.५प२५१७ स्टार टिभिएस, लु.४प८९९१ होन्डा युनिकर्न र विना नम्बरको यामाहा एफ जेड मोटरसाइकल चोरी गरेका थिए । विशेष सुराकीका आधारमा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

No comments: