News

Jan 26, 2010

हङकङबासी नेपालीद्वारा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
धरान २०६६ माघ ११ लामो समयदेखि हङकङमै बसोबास गर्दै आएका 'थाहा नपाई माया मेरो' का गायक तथा संगीतकार दिनेस सुब्बा नेम्वाङ धरानमा आइतबार दृष्टीहीनहरुका माझ अचानक झुल्के । त्यो पनि गाउनलाई होइन, सहयोग राशी लिएर सोझै पुर्वाञ्चल ज्ञानचक्षु विद्यालयको प्राङगणमा पुगेका थिए । हल्ला र चर्चा त्यति नरुचाउने गायक संगितकार सुव्वाले आफ्ना साथीहरु संग मिलेर धरानका दृष्टिहिन विद्यार्थीहरुका लागि हङकङमा संकलन गरेको रकम प्रदान गर्न आएका थिए । हङकङ आइडीमा झण्डै डेढ दशक देखि बस्दै आएका सुब्बा एक साताको लागि नेपाल आएको अवसरमा दृष्टिहीनहरु अध्ययन गर्ने धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई एक सवारी साधन किन्न ३ लाख ३० हजार रुपैया प्रदान गर्दै त्यहा अध्ययनरत ८६ जना मध्ये २५ जना दिष्टीविहीनलाई छात्र वृत्ति दिने घोषणा गरे । २५ जनालाई छात्रवृत्ति दिन पनि झण्डै तीन लाख रुपैया नै लाग्छ ।हङकङमा हिमालयन टोन्स म्यूजिक एकेडेमीका संचालक समेत रहेका सुब्बाको भावुक अनुहारलाई दृष्टीविहीनहरुले देख्न नसके पनि अनुभूति भने गरे । धन थापा, रविन राई र स्वयम् सुब्बाले तयार गरेको 'हावाको क्यानभासमा दिनेश सुब्बा' वृत्तचित्र हङकङमा केही महिना अघि प्रदर्शित गरेर संकलित रकम पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयलाई प्रदान गर्न धरान आएको बताए । उनले भने, 'आफुले नेपाल छाडेर हङकङमा बसे पनि आफ्नो माटो प्रति गर्ने कर्तव्य नविर्सन यति भए पनि प्रयास गरेको हुं । यति गर्नमा अरु धेरै हङकङे नेपाली साथीसंगीहरुको पनि उतिकै सहयोग छ ।' उनका अनुसार रकम प्रदान गर्नेहरुमा २० जना छन् । नेपालका दृष्टीहिन विद्यार्थी संझेर एउटा सवारी साधन किन्नका लागि हङकङका कालु घले, वाइवी राई, ज्ञानु सुव्वा, करेन सुब्बा, तुलसी गुरुङ, शशी राई, डाइनामिक टुर एन्ड ट्राभल्स, कृष्ण पाण्डे, कमल पौडेल, कविन राई, त्रिवेणी हेयर शेलुन, विवि थापा, सोम थापा, धन थापा, रविन राई लगायतले च्यारिटी शोमा बढी रकम प्रदान गरेका थिए । तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा समेत सदस्य रहेका सुब्बाले हङकङ प्रवासिनुका कारणबारे आर्थिक नै रहेको बताए । उनले भने, 'श्रीमति भीमा देवी गुरुङको हङकङ आइडी भएकोले उतै पो भासिएं । तर आफ्नो सृजनालाई निरन्तरता दिएको छु । नेपालीत्व विर्सेको छैन । विर्सेको भए किन पो आएर दृष्टिविहिन विद्याथीको माझ बस्थें ।' पुख्यौली थले पान्थरको पौवा सारताप बताउने सुब्वा सहित १७ जनाले विद्यालयका २५ दृष्टिविहीनलाई बर्षेनी छात्रवृत्ति प्रदान गर्ने पनि बताए । उनका अनुसार दृष्टिविहीन विद्यार्थीहरुलाई छात्र वृत्ति दिन सहयोग गर्नेहरुमा हङकङका तुलसी गुरुङ, टंक सम्वाहाम्फे, उत्तरमान लिम्बु, वाइवी लिम्बू, कालु घले, गणेश इजम, पसन तमू, रविन श्रेष्ठ, क्यारेन लिम्बु, आमोद राई, सुस्मीता गुरुङ, धन थापा, विद्या राई, जगत अम्बु गुरुङ, प्रदीप कन्दङ्वा, ललित आङ्बुहाङ, रविन राइ, देवराज राइ, सोम थापा लगायत रहेका छन् । दृष्टीविहीन विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तक एक सेटको मात्र करिव १० हजार रुपैया पर्छ । पुस्तक किन्न नसकेर पनि कतिपयले विचैमा अध्ययन छाड्ने गरेका छन् । उनीहरुको अध्ययनलाई निरन्तरता दिलाउन छात्रवृत्ती पंरदान गरेको सुब्बाले बताए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सरला कायस्थ र कार्यवाहक प्रधानध्यापक हरी कृष्ण श्रेष्ठले हङकङबासी नेपालीहरुले विद्यालय र विद्यार्थीहरुलाइ सम्झेकोमा आभारी व्यक्त गरे । अरुले पनि यस्तै सहयोग गरेमा कुनै पनि दृष्टिविहिन बालबालिका शिक्षाबाट बन्चित नहुने बताए ।

No comments: