News

Jan 22, 2010

'ऋण तिर्न’ नसकेर मिर्गौला बेचे २८ वर्षीय काजीमानले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, ७ माघ,पाँचखाल-६ काभ्रेका २८ वर्षीय काजीमान विश्वकर्माले एक वर्षअघि नाम परिवर्तन गरेर मिर्गौला बेचे । नाम फेरेरै भए पनि मिर्गौला बेच्नु ऋणैऋणले चुर्लुम्म डुबेका काजीमानको बाध्यता थियो ।काजीमानले मिर्गौला त बेचे, तर जति पैसा आउँछ भन्ने आश्वासन दिइएको थियो त्यसको आधी पैसा पनि पाएनन् उनले । कृषि विकास बैंकमा धितो राखेको तीन रोपनी जग्गा फर्काउन डेढ लाख पाउने सर्तमा मिर्गौला बेचेका काजीमानले जब ७० हजारमात्र पाए त्यतिवेला उनी छाँगाबाट खसेजस्तै भए ।
'ऋण तिर्न डेड लाख रुपैयाँ पाउने आशमा मिर्गौला बेचेँ, तर ७० हजार रुपैयाँ भन्दा पाइनँ,' उनले दुःखेसो पोखे, 'ज्यान जोखिममा पारेर मिर्गौला बेचेको पैसाले ऋण तिर्न नसकेर डेढ रोपनी जग्गासमेत गयो ।' जागिर खान भन्दै घरमा ढाँटेर हिँडेका काजीमानले काठमाडौं कीर्तिपुरका शरण महर्जनको भाइ बनेर मिर्गौला बेचेका थिए । छोराले साँच्चिकै जागिर खान गएको होला भनेर ढुक्क भएका आमाबुबा त्यतिवेला छाँगाबाट खसेझँै भए जतिवेला एक्लो छोरा मिर्गौला बेचेर फर्किएको थाहा पाए ।
०६५ माघमा जागिर खान भनी घरबाट हिँडेको छोरा मिर्गौला बेचेर फर्किएको भन्ने ६५ वर्षीय बुबा हर्कलाल र ५५ वर्षीया आमा रत्नकुमारीले भर्खरै थाहा पाएका हुन् । अहिले काजीमानको घर रुवावासी छ । 'भएको एउटा छोराले पनि मिर्गौला बेचेर फर्किएछ,' आमा रत्नकुमारीले रुँदै भनिन्, 'न ऋण तिर्न सक्यो, उल्टै उसैलाई पो पाल्नुपर्ने भो ।' मिर्गौला बेचेर फर्केपछि काजीमान काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । मूर्तिको काम गर्ने काजीमानले काम गर्न नसकेपछि उनको परिवारमा समेत समस्या भएको छ । काम गरेर पैसा कमाउन नसकेपछि काजीमानले पाँचखालको सरस्वती गृह बोर्डिङ स्कुलमा पढ्ने छोरालाई समेत दुग्धेश्वरी माविमा भर्ना गरेका छन् । 'अब त कसरी बाँच्ने भन्ने नै समस्या छ, सरकारले हामीजस्ता गरिबलाई ऋण दिने व्यवस्था गरे त केही व्यवसाय गर्न सकिन्थ्यो होला, नत्र भने भोकभोकै मर्नुपर्ने भयो,' काजीमानले भने, 'पहिला वृद्धि आएन, अहिले कुरीकुरी भएको छ ।'

No comments: