News

Jan 30, 2010

चतराबाट तुम्लिङटारसम्म जेटबोट सञ्चालन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ माघ : सुनसरीको चतराबाट संखुवासभाको तुम्लिङटारसम्म दुई सातापछि जेटबोट सञ्चालन हुने भएको छ । सुम्निमा जल यातायात प्रालिले पहिलोपटक व्यावसायिक रूपमै अरुण नदीमा जेटबोट सञ्चालन गर्न लागेको हो । करिब पौने तीन करोडको लगानीमा अमेरिकाबाट झिकाइएको जेटबोट जोगबनी नाकामा आइपुगेको छ भने केही दिनमै भन्सार तिरेर नेपाल भित्र्याउने तयारी भइरहेको छ । एक पटकमा २० जनासम्म बस्न मिल्ने जेटबोटमा चतराबाट ८० किलोमिटरभन्दा बढीको नदीयात्रा गर्दै तुम्लिङटारसम्म पुग्ने रुट मिलाइएको छ । माघ २६ गतेबाट जेटबोटको परीक्षण सञ्चालन हुने र त्यसको १५ दिनपछि सर्वसाधारणका लागि खुला गरिने सुम्निमा जल यातायात प्रालिका अध्यक्ष हरि वैरागी दाहालले जानकारी दिए । भाडादरको भने अहिलेसम्म टुंगो लागेको छैन । परीक्षण सञ्चालन सफल भएपछि मात्र भाडा तोकिने दाहालले बताए । 'परीक्षण सञ्चालन सफल भएमा सञ्चालन गर्दा लाग्ने समयका आधारमा भाडादर निर्धारण हुन्छ,' उनले भने । जोखिमपूर्ण यात्रा भएकाले यात्रुको बिमाको व्यवस्था गरिएको छ भने यात्रा अवधिभर लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्था कम्पनीले गरेको छ ।
जेटबोटको परीक्षण सञ्चालनका क्रममा दुईजना अमेरिकी प्रशिक्षक पनि रहने र उनीहरूले नै जेटबोट सञ्चालनका लागि नेपालीलाई पनि प्रशिक्षण दिनेछन् । जेटबोट चलाउन जान्ने जनशक्ति नेपालमा अहिलेसम्म नभएकाले परीक्षण सञ्चालनका लागि पनि अमेरिकी चालक ल्याउन लागिएको दाहालले बताए । सुनसरीको चतराबाट सप्तकोसीको मुख्य सहायक नदी अरुणमा यो यातायात सञ्चालन गरिनेछ । कम्पनीले चतरामा जेटबोटलाई राख्नका लागि आवश्यक पर्ने करिब एक सय रोपनी बगरलाई भाडामा लिने तयारी गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए । पूर्वाञ्चल क्षेत्रीय वन कार्यालय धनकुटाले अल्पकालीन रूपमा सप्तकोसीको बगरको केही भाग प्रयोग गरी चतराबाट जेटबोट चलाउन उपयुक्त भएकाले स्वीकृतिका लागि वन विभागमा पठाइसकेको छ । जेटबोट सञ्चालन भएमा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी र मोरङका जनतालाई यातायात तथा ढुवानी सेवा सुलभ हुने कम्पनीले दाबी गरेको छ । यसबाट कोसी टप्पु वन्यजन्तु आरक्ष र मकालु-वरुण राष्ट्रिय निकुञ्ज पर्यावरणीय पर्यटनको विकास गर्न सकिने पनि बताइएको छ ।

No comments: