News

Jan 23, 2010

एकीकृत माओवादीको आमहडताल स्थगित गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ८,एकीकृत माओवादीले उच्चतरीय संयन्त्रबाट राजनीतिक गतिरोध अन्त्यका लागि छिट्टै सहमति हुने अपेक्षा गर्दै आइतबारदेखि सुरू हुने भनिएको आमहडताल स्थगित गरेको छ। शुक्रबार बसेको माओवादी पदाधिकारीको बैठकले आमहडताल स्थगित गर्ने निर्णय गरेको हो। आमहडताल स्थगित गरिए पनि नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनताका लागि सञ्चालित देशव्यापी अभियान कार्यक्रम जारी रहने अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका छन्। राजनीतिक गतिरोध अन्त्य नगरिए स्थगित कार्यक्रमलाई थप उचाइसाथ सञ्चालन गर्ने चेतवानीसमेत उनले दिए। 'संयन्त्रबाट राजनीतिक गतिरोध अन्त्यका लागि छिट्टै सहमति निर्माण हुने तथा शान्ति एवं संविधान निर्माणको पक्षमा सकारात्मक निष्कर्ष तथा भूमिकाको अपेक्षा गर्दै माघ १० देखिको अनिश्चितकालीन आमहडताल हाललाई स्थगित गरिएको छ,' दाहालको विज्ञप्तिमा छ। राजनीतिक पार्टीहरूबीचको उच्चस्तरीय संयत्रको शनिबारको बैठकले यसको प्रभावकारी कार्य सम्पादनका लागि कार्यविधि एवं कार्यक्षेत्राधिकार पारित गर्नुका साथै राष्ट्रपतिको कदमबाट उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्ने विषयलाई पहिलो कार्यसूचीमा राखी छलफल सुरु गरेकाले आमहडताल स्थगित गरेको विज्ञप्तिमा उल्लेख छ।माओवादीले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको माग राख्दै शान्ति र नयाँ संविधान निर्माणको कार्यभार सुनिश्चित गर्न चौथो चरणको संघर्ष गर्दै आएको छ। माओवादीले यसअघि तीनदिने आमहडताल गरेको थियो।आमहडतालको तेस्रो दिन नयाँ बानेश्वरबाट दाहालले 'अब वार्ता सिधै दिल्ली'सँग भनी अभिव्यक्ति दिँदै माघ १० देखि आमहडताल गर्ने चेतवानी दिएका थिए। त्यहीबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको थियो। उक्त संयन्त्रमा गतिरोध अन्त गर्नेबारे गृहकार्य भइरहेकाले आमहडताल स्थगित गरिएको हो। आमहडताल कहिलेसम्म स्थगित गरिने भन्नेबारे निर्णय नभएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। यसअघि माओवादीले राष्ट्रिय स्वाधिनताको नारासँगै सीमा मिचिएको भनिएका विभिन्न सीमा क्षेत्रमा सभा गरेको थियो। यसैक्रममा आइतबार दाहाल सिन्धुलीगढीमा हुने अभियानको अन्तिम सभामा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वाधिनताका लागि अंग्रेजसँग सिन्धुलीगढीको महत्व रहेको भन्दै त्यहाँ सभा गरिएको हो।

No comments: