News

Jan 22, 2010

रक्षामन्त्रीको अभिव्यक्तिबारे सदनमा प्रधानमन्त्रीको खण्डन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
७ माघ,प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नसकिने रक्षामन्त्री विद्यादेवी भण्डारीको अभिव्यक्तिको खण्डन गरेका छन् । मन्त्री भण्डारीले भनेका कुरामा कुनै दम नभएको बताउँदै प्रधानमन्त्री नेपालले सञ्चारमाध्यममा आएका कसैको भनाइलाई आधार बनाएर धारणा नबनाउन माओवादीलाई आग्रह गरेका छन् ।'सेना समायोजन विशेष समिति संविधानबमोजिम गठन भएको हो र यसले आफ्नो कार्यविधिअनुसार काम गर्छ । समितिले गरेको निर्णय मान्न रक्षा मन्त्रालय बाध्य छैन भन्ने भनाइमा कुनै दम छैन,' प्रमुख प्रतिपक्षी दल माओवादीले उठाउँदै आएका विषयमा बिहीबार व्यवस्थापिका संसद्मा जवाफ दिँदै प्रधानमन्त्री नेपालले भने । विशेष समितिले गर्ने निर्णय सरकारले इमानदारीपूर्वक पालना गर्ने प्रधानमन्त्री नेपालले बताए । सेना समायोजन गर्न र शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको पनि उनले दोहोर्‍याए । त्यसका लागि सहयोग गर्न उनले माओवादीलाई आग्रह गरे । आफू स्वयं शान्तिप्रक्रियाको प्रारम्भदेखि नै संलग्न रहेको बताउँदै प्रधानमन्त्री नेपालले विगतका सहमति र सम्झौतालाई सबै पक्षले पालना गर्नुपर्ने बताए । 'म आफैँ शान्तिप्रक्रियामा सुरुदेखि संलग्न रहँदै आएको नाताले कुनै पक्षलाई निषेध गर्ने पक्षमा छैन । १२ बुँदे सम्झौतादेखि नै यसका सकारात्मक पक्षलाई कार्यान्वयन गर्न सबैमा त्यत्तिकै इमानदारिता चाहिन्छ,' उनले भने । भारतबाट हतियार ल्याइएको भन्ने हल्ला निराधार भएको दाबी पनि प्रधानमन्त्री नेपालले गरे । भारतले नेपाली सेनाको सबलीकरणका लागि दिने बन्दोबस्तीका सामान मात्रै ल्याइएको उनले बताए । माओवादीको हालत लिट्टे हुन्छ भन्ने आफ्नो भनाइको पनि प्रधानमन्त्री नेपालले खण्डन गरे । आफूले 'शान्तिप्रक्रियाबाट भाग्न खोज्नेको अवस्था लिट्टेको जस्तै हुन्छ' भनेको स्पष्टीकरण उनले सदनलाई दिए । तर, प्रधानमन्त्री नेपालले भारतीय स्थलसेना प्रमुख दीपक कपुरले माओवादी लडाकुलाई सेनामा समायोजन गर्न हुँदैन भनी दिएको अभिव्यक्तिबारे भने केही उल्लेख गरेनन् । भारतीय सेना प्रमुख कपुरले दिएको अभिव्यक्तिबारे सरकारको धारणा माग गर्दै माओवादीले सदन बहिष्कार गर्दै आएको थियो । प्रधानमन्त्रीको सम्बोधनप्रति असहमति जनाउँदै माओवादीले भने आपत्ति जनाएको छ । माओवादी सभासद् अग्नि सापकोटाले प्रधानमन्त्रीको सम्बोधन अत्यन्तै औपचारिक र अपूर्ण भएको टिप्पणी गरे । 'भारतीय सेना प्रमुख कपुरको भनाइलाई प्रधानमन्त्रीले टालटुल गर्न खोजिएको पाइयो,' उनले भने । कपुरले नेपाली सेनालाई माओवादीविरुद्ध लड्न उक्साइरहेको सापकोटाको भनाइ छ ।

No comments: