News

Apr 8, 2010

सगरमाथाको अब देखि उचाइ दुइटा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २६ - सगरमाथाको उचाइ कति ? ८ हजार ८ सय ४८ मिटर । तर चीनले सर्वोच्च शिखरको आधिकारिक उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर बनाउन नेपाल सरकारलाई मनाउने प्रयासमा पहिलो सफलता पाएको छ ।
आइतबारदेखि काठमाडौंमा जारी नेपाल र चीन सीमा व्यवस्थापन संयन्त्र बैठकमा चीनले गरेको सगरमाथा उचाइसम्बन्धी प्रस्तावमा नेपाली पक्ष सहमत बनेको छ । शुक्रबार सकिने बैठकको उक्त सहमति संयन्त्रले आधिकारिक रूपमा सार्वजनिक भने गरेको छैन । तर सहमतिअनुसार सगरमाथाको उचाइ हिउँको भागसहित ८ हजार ८ सय ४८ मिटर र हिउँको भागबाहेक ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर गरी दुइटा हुनेछ । सहमतिले आधिकारिक मान्यता पाउन मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ ।
'हुरी र हिमपातका कारण हिउँको भाग घटबढ भइरहने भएकाले पत्थरलाई आधार बनाएर चीनले सगरमाथाको आधिकारिक उचाइ तय गर्नुपर्ने प्रस्ताव राखेको हो,' बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरसँग भने, 'हामी सीमा नक्सामा सगरमाथाको उचाइ चीनले प्रस्ताव गरेअनुरूप ८ हजार ८ सय ४४ दशमलव ४३ लेख्ने र नेपालले आधिकारिक मान्यता दिएको ८ हजार ८ सय ४८ मिटरलाई पनि निरन्तरता दिने कुरामा सहमत भयौं ।' बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव मुक्तिनाथ भट्टले गरेका छन् । टोलीमा नापी विभागका महानिर्देशक पनि सामेल छन् ।

No comments: