News

Apr 9, 2010

चर्कियो काँग्रेसमा वरियताको विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ अप्रिल,२०१०,नेपाली काँग्रेसको बाह्रौं महाधिवेशनको महाधिवेशनको यकीन मिति तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आज दिउँसो बस्ने बैठकले महाधिवेशनको यकीन मिति तय गर्नुका साथै केही जिल्लामा रहेका विवाद मिलाउने काँग्रेस नेताहरुले बताएका छन् । यस अगाडि हिजो बसेको बैठकले आगामी भदौ ११ देखि १४ गतेसम्ममा काठमाडौंमा महाधिवेशन गर्ने सहमति गरेको थियो । बैठकले बैशाख मसान्तसम्म क्रियाशील सदस्यताका फारामहरु केन्द्रीय कार्यालयमा बुझाउन सबै जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
यसैबीच काँग्रेसमा वरियता विवाद पनि चर्किएको छ । वरियताक्रममा पार्टीका कार्यवाहक सभापति अगाडि कि वरिष्ठ नेता शेरबहादुर देउवा अगाडि भन्ने बिषयमा काँग्रेसमा विवाद बढेको छ । हिजो बसेको केन्द्रीय समितिको बैठकको निर्णय पुस्तिकामा कार्यवाहक सभापति सुशील कोइरालाको नाम अगाडि देखेपछि वरिष्ठ नेता देउवाले तत्काल असहमति जनाउँदै विरोध गरेपछि बैठकमा विवाद बढेको थियो । कोइराला र देउवा पक्षमा विभाजित केन्द्रीय सदस्यहरुबीचको विवादले बैठक तनावग्रस्त बन्न पुगेको थियो ।
दुई पक्षमा विभाजित नेताहरुबीच भनाभन भएको थियो । देउवाको पक्षमा पार्टीका उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री बिमलेन्द्र निधि, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, भीष्मराज आङदम्बे, महालक्ष्मी उपाध्यायले बोलेका थिए भने कोइरालाको पक्षमा उपसभापति रामचन्द्र पौडेल, मीना पाण्डे, दीलबहादुर घर्ती, गोपाल पहाडी, दिलेन्द्र प्रसाद बडु, फरमुल्लाह मन्सुर लगायतले बोलेका थिए । सभापतिको निधनपछि कार्यवाहक सभापति नै स्वतः सभापतिको स्थानमा रहने सुशील पक्षका नेताहरुको भनाई थियो ।

No comments: