News

Jun 4, 2010

स्पष्ट मार्गचित्र ल्याउन माओवादीसँग आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २१- सत्तारूढ प्रमुख दुई राजनीतिक दल नेपाली कङ्ग्रेस र नेकपा (एमाले) का शीर्ष नेता सम्मिलित बैठकले शान्ति प्रक्रिया र संविधान लेखन कार्यमा स्पष्ट मार्गचित्रसहितको कार्यक्रम ल्याउन एकीकृत नेकपा (माओवादी) सँग आग्रह गरेको छ। प्रधान मन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको शीर्ष बैठकले यही जेठ १४ गते राति भएको तीन बुँदे सहमति कार्यान्वयन गरी सहमति र सहकार्यको वातावरण तयार गर्न माओवादीसँग आग्रह गरेको नेपाली कङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए। मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा एकीकृत माओवादी पक्षबाट भनाइ र गराइमा विरोधाभाष देखिइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले नेताहरूले जनभावनाअनुरूप मुलुकलाई राजनीतिक निकास दिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। एकीकृत नेकपा (माओवादी) स्थायी समितिको बिहीबारको निर्णयलगायत् समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जानकारी दिँदै प्रवक्ता केसीले भने– विश्वासको वातावरणसहित एमाओवादी पक्षबाट प्रतिबद्धता आउनासाथ मुलुकले राजनीतिक निकास पाउनेछ। सो बैठकमा प्रधान मन्त्री माधवकुमार नेपाल, कङ्ग्रेस कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेल र प्रवक्ता केसी तथा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतका वरिष्ठ नेताको सहभागिता थियो।

No comments: