News

Jun 8, 2010

बम विष्फोटको जिम्मा स्वतन्त्र नेपाल दलले लियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २५ - स्वतन्त्र नेपाल दलले राजधानीमा आज बिहान भएको बम विष्फोटको जिम्मेवारी लिएको छ। संविधान सभाको म्याद थपेको विरोधमा चेतावनीस्वरुप विष्फोट गरेको दलले जनाएको छ। राजनीतिक क्षेत्रमा नसुनिएको 'नयाँ' दलले गराएको विष्फोटमा परी चार घाइते भएका छन्। प्रहरीले कार चालक दीपक विष्ट र दुई यात्रुलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। विस्फोटमा परेको कार माओवादी निकट ट्याक्सी मजदूर संघका कोषाध्यक्ष राम अधिकारीको भएको पुष्टि भएको छ। पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।डीएसपी दीपक थापाका अनुसार घटनास्थलनजिकै सो दलको नाम उल्लेख गरिएको पर्चा भेटिएको छ। राजधानीको बसुन्धरास्थित इशान बाल अस्पताल परिसरमा पार्किङ गरी राखेको बा ४ च ५५३९ नम्बरको कारमा आज बिहान ठूलो आवाजका साथ एक्कासी आगो लागेको थियो। दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले विष्फोटमा पेट्रोल बम र सकेट बम दुबैको संयोजन गराइएको देखिएको छ। कारभित्र रहेको एक सकेट बमलाई सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सुरक्षाका तीनै अंग परिचालित भएका थिए। बिहान करिब ७ बजेतिर दुई यात्रु सहित कार इसान अस्पताल अगाडि पार्किङमा रोकिएको थियो। दुई यात्रु सँगै चालक कारबाट उत्रिएको करिब १० मिनेटपछि एक्कासि विस्फोट भएको थियो। प्रहरीले प्रारम्भमा कारमा प्राविधिक गडबडी भएर विस्फोट भएको शंका गरे पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले विस्फोट एक सकेट बम घटनास्थलबाट बरामद गरेपछि सो कारमा विस्फोट गराइएको पुष्टि भएको हो। डीएसपी थापाका अनुसार कारसँगै २०-२० लिटरका दुई वटा ग्यालिनको अवशेष समेत फेला परेकाले सकेटबमको क्षति बढाउन पेट्रोलको प्रयोग गरिएको देखिएको छ। बम विस्फोट लगत्तै भएको आगलागीबाट कार पूर्णरुपमा ध्वस्त भएको छ।विस्फोटबाट चारजना गम्भीर घाइते छन्। अन्य ३ सामान्य घाइते भएका छन्। विस्फोटका कारण वरिपरिका घरका सिसा फुटेका छन्।

No comments: