News

Aug 10, 2008

नयाँ सरकार गठनबारे बिबाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ सरकार गठनबारे बिबादमा माओवादी नेताले रक्षा मन्त्रालय कांग्रेसलाई कुनै हालतमा नदिने अडान राखेका छन् भने कांग्रेस नेताले रक्षा मन्त्रालय नपाए सरकारमै नजाने बताएका छन् । माओवादी सचिवालय सदस्य पोष्टबहादुर बोगटी दिवाकरले नेपाली कांग्रेसले रक्षा मन्त्रालय सम्हाल्दा शान्तिप्रक्रिया धरापमा पर्ने भएकाले उसलाई त्यो मन्त्रालय नदिने अडान आफ्नो पार्टीले राखेको बताएका छन् । साउन २६ गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै बोगटीले कांग्रेसले रक्षा मन्त्रालय पाउँदा सेना समायोजनमा समस्या आउने आउने उल्लेख गरे । राष्ट्रवादीहरुको सरकार बन्ला भनेर नेपाली कांग्रेस अहिले आत्तिएको पनि बोगटीले कार्यक्रममा दावी गरे । कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले नयाँ सरकारमा रक्षा मन्त्रालय नपाए आफ्नो पार्टी कुनै हालतमा सरकारमा नजाने स्पष्ट पारे । एमाले र मधेसी जनअधिकार फोरमसँग कुरा मिले माओवादीलाई एकल सरकार बनाउन दिने पक्षमा आफ्नो पार्टी रहेको पनि उनको भनाइ थियो । सबैभन्दा ठूलो पार्टी भएका कारण नयाँ सरकार निर्माणमा माओवादीले सर्त राख्न नपाउने पनि श्रेष्ठले कार्यक्रममा दोहोर्‍याए । एमाले केन्द्रीय सदस्य भीम रावलले नयाँ सरकारमा आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन सबै दल तयार रहेको बताए । शक्ति बाँडफाँडमा रक्षा मन्त्रालयबाहेक सबै मन्त्रालयमा दलहरुबीच कुरा मिलिसकेको उल्लेख गर्दै रक्षा मन्त्रालयमा पनि दलहरुले आफ्नो ढिपी छाड्नुपर्ने धारणा राखे । सहमतिको सरकारको कुनै बिकल्प नरहेको पनि कार्यक्रममा रावल दोहोर्‍याए ।

No comments: