News

Aug 12, 2008

भारतका पहिलो व्यक्तिगत स्वर्ण पदक जित्नेलाई मालामाल

लिम्वूवान डट व्लगस्पोट डटकम,नयाँ दिल्ली,
ओलम्पिक खेलकुदमा भारतका लागि ऐतिहासिक रूपमा पहिलो व्यक्तिगत स्वर्ण पदक जितेपछि २५ वषीय व्यापारी अभिनव बिन्द्राको जीवनमा अचानक कायापलट भएको छ। उत्तरी भारतको चण्डीगढनिवासी बिन्द्राले सोमबार बेइजिङमा पुरुष १० मिटर एयरराइफलमा सनसनीपूर्ण् ढंगले स्वर्ण पदक जितेपछि उनको देशले अभूतपूर्व खुसियाली मनाउन शुरू गरेको थियो। क्रिकेटको उच्चतम क्रेज रहेको भारतमा बिन्द्राले एकाएक राष्ट्रिय नायकको हैसियत हासिल गरे भने आर्थिक रूपमा पनि बेइजिङको स्वर्ण उनलाई मालामाल बनायो।स्वर्ण जित्नासाथ उनलाई भारतीय राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंह र सत्तारूढ कांग्रेस -आर्इ की अध्यक्ष सोनिया गान्धीले बिन्द्राको सफलताका लागि बधाई दिनुभएको थियो। उनको गृहनगर चण्डीगढमा सोमबार राति अबेरसम्म सडकसडकमा भव्य आतिसबाजी गर्दै खुसियाली मनाइएको थियो।१ अर्ब जनसंख्या भएको भारतलाई ओलम्पिकमा पहिलो स्वर्ण दिलाउने बिन्द्रालाई पुरस्कृत गर्न विभिन्न भारतीय राज्यहरूबीच होडबाजी नै चलेको पाइयो। सोमबार साँझसम्ममा मात्र विभिन्न राज्य सरकारका तर्फाबाट १ करोड ७७ लाख रुपियाँ तथा केन्द्र सरकारका तर्फाट ३० लाख रुपियाँ पुरस्कारको घोषणा भइसकेको थियो। यस्तै विभिन्न राज्यमध्ये पन्जाबले १ करोड, हरियाणा सरकारले २५ लाख, महाराष्ट्रले १० लाख, चण्डीगढ प्रशासनले ५ लाख, बिहारले ११ लाख, उत्तराखण्डले ११ लाख, मध्यप्रदेश सरकारले ५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले समेत यो उच्च सफलताका लागि बिन्द्रालाई २५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ।भारतका लागि ओलम्पिकमा पहिलो व्यक्तिगत स्वर्ण पदक जित्ने बिन्द्रालाई बधाई छ। उनले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएका छन्’ -बीसीसीआईका प्रमुख शरद पवारले भने।टिम इभेन्टमा फिल्ड हक्कीबाट आठ स्वर्ण सहित व्यक्तिगततर्फएक रजत र तीन कास्य जिते पनि पहिलो स्वर्ण लागि भारत संर्घषरत थियो। भारतको लामो प्रतीक्षामा पूर्णविराम लगाउँदै स्वर्ण जित्ने बिन्द्रालाई भारतका रेलमन्त्री लालु यादवले जीवनभर रेल यातायातमा पहिलो श्रेणीमा निःशुल्क यात्राको व्यवस्था गर्ने घोषणा गरेका छन्।चण्डीगढस्थित बिन्द्राको घरमा सोमबार बिहानैदेखि खुसियालीको भव्य माहोल थियो। हामीले बिहानदेखि बधाई र लड्डुबाहेक केही खाएका छैनौं’ -उनकी आमा बबली बिन्द्राले भनिन्।त्यस्तै ओलम्पिक स्वर्ण बिजेता छोरालाई खुसियालीमा २ अर्ब रुपियाँबराबरको होटल उपहार दिने घोषणा गरेका उनका पिता एएस बिन्द्राले भने आफू छोराको पुनरागमनको व्यग्र प्रतीक्षामा रहेको बताए। उनले भने- म अहिले खाली उसको पुनरागमन कुरिरहेको छु। त्यसपछि यहाँ शृंखलाबद्ध रूपमा भोजहरू हुनेछन्। खुसियाली मनाउनका लागि म पृथ्वीमा सम्भव सबथोक गर्नेछु।’

No comments: