News

Aug 11, 2008

रक्षा मन्त्रालयको लागि तानातान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार गठनका विषयमा राजनीतिक दलहरूबीच सहमति खोज्न आइतबार दिनभर भएका बैठकहरू पनि निष्कर्षवहीन भएका छन्।
रक्षामा कांग्रेस र माओवादीका दुइ मन्त्री बनाउने एमाले प्रस्ताव
राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना अन्त्य भएपछि बहुमतीय आधारमा सरकार निर्माण गर्दा पनि सहमति खोज्ने गरी प्रमुख राजनीतिक दलहरूको साँझ अबेरसम्म भएको औपचारिक, अनौपचारिक बैठक मन्त्रालय भागबन्डामा कुरा नमिलेका कारण निष्कर्षवहीन भएको थियो।नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी जनअधिकार फोरमबीच भएको बैठकमा नेताहरू माओवादीको नेतृत्वमा सरकार निर्माण गर्न सहमत भए पनि महत्त्वपूर्ण् मन्त्रालय बाँडफाँडमा विवाद उत्पन्न भएको छ।माओवादीले सरकारको नेतृत्व गर्ने हो भने रक्षा, गृहजस्ता मन्त्रालय अन्य प्रमुख दललाई नदिने हो भने सत्ता साझेदारीको अर्थ नहुने अडान एमाले, कांग्रेस र फोरमले राखेका छन्। एमालेले दाबी गरेको गृह मन्त्रालयका बारेमा सहमति हुन खोजे पनि नेपाली कांग्रेसले दाबी गरेको रक्षा मन्त्रालय माओवादी छोड्न तयार भएको छैन।माओवादीको सेना समायोजन गर्नुपर्ने भएकाले पनि यस पटक रक्षा मन्त्रालय महत्त्वपूर्ण मानिएको छ। विगतमा रक्षा मन्त्रालयलाई खासै महत्त्व दिइँदैनथ्यो र सो मन्त्रालय प्रायः प्रधानमन्त्रीकै मातहतमा रहने गरेको थियो।आइतबार कांग्रेस र माओवादी, माओवादी र एमाले, एमाले र फोरम, कांग्रेस र फोरमबीच छुट्टाछुट्टै बैठकहरू भएका थिए तर बैठकहरू टुंगोमा पुग्न नसकेपछि आज सोमबार पनि छलफल गर्ने भनी नेताहरू उठेका थिए।नेपाली कांग्रेसले रक्षा मन्त्रालय नपाए सरकारमै नजाने बताएको छ भने माओवादीले पनि रक्षा छोड्नुपर्छ भने प्रतिपक्षमा बस्ने अडान राखेको छ। बैठकमा सहभागी नेताहरूका अनुसार कांग्रेस र माओवादीले रक्षा मन्त्रालयमा अड्डी लिनुमा माओवादी लडाकू समायोजन नै कारक रहेको छ।नेपाली कांग्रेसले माओवादीले सेनामा राजनीतीकरण गर्न नदिन रक्षा मन्त्रालय आफूले लिन खोजेको तर्क राखेको छ भने माओवादीले सेना समायोजन हुन नदिई शान्ति प्रक्रियालाई अवरुद्ध पार्ने सम्भावना रहेकाले त्यस्तो हुनबाट रोक्न रक्षा मन्त्रालय अन्य दललाई दिन नसकिने तर्क राखेको बैठकका सहभागीले बताएका छन्।एमालेले भने रक्षा मन्त्रालयका लागि माओवादी र कांग्रेसका तर्फाट दुइवटा मन्त्री बनाउने वैकल्पिक प्रस्ताव राखेको थियो। त्यो प्रस्तावप्रति कांग्रेस र माओवादी दुवैको सहमति हुन सकेको छैन।यसैबीच माओवादीका सचिवालय सदस्य पोस्टबहादुर बोगटीले माओवादीको नेतृत्वमा सरकार बन्न नदिने अनेक बहाना निकाल्दै षड्यन्त्रलाई जारी राखिएको बताउनुभएको छ।रिपोर्र्टर्स् क्लबमा आइतबार बोल्दै बोगटीले नेपाली कांग्रेसले रक्षा मन्त्रालय लिने निहुँ मात्र बनाएको हो यदि रक्षा दिने हो भने अर्को माग थपिने निश्चित छ भन्नुभएको छ। जनमोर्चा नेपालका कार्यवाहक अध्यक्ष लीलामणि पोखरेलले रक्षा मन्त्रालय सरकारको नेतृत्व गर्नेले नै पाउनुपर्छ भन्नुभयो।नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले रक्षा मन्त्रालय पनि माओवादीलाई दिने हो भने राष्ट्रिय सेनालाई अस्तव्यस्त बनाउँछ भन्नुभयो।नेकपा (एमाले) का नेता भीम रावलले सरकार सञ्चालनको आचारसंहिता प्याकेजमै बनाउने गरी सहमतिको खोजी भइरहेको बताउनुभयो।

No comments: