News

Aug 12, 2008

अरनिकोको जीवनी चित्रकथामा चीनमा प्रकाशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका राष्ट्रिय विभूति कलाकार अरनिकोको जीवनीलाई चित्रकथामा उतारिएको पुस्तक चीनमा प्रकाशन गरिएको छ । नेपालमा क्रियाशील नेपाल-चीन कार्यकारी परिषद् तथा चीनको श्वेतचैत्य व्यवस्थापन समितिले संयुक्तरूपमा तयार पारेको उक्त पुस्तकमा चिनियाँ र अंग्रेजी भाषामा चित्रको जानकारी दिइएको छ ।नेपालको सङ्क्षिप्त परिचय, अरनिकोको नेपालमा बितेको बाल्यकालदेखि चीनमा दिवङ्गत हुनु अघिसम्मका महत्वपूर्ण घटना तथा नेपाल-चीन मित्रताका बहुआयामिक पक्षलाई समेटेर तयार पारिएको उक्त पुस्तकमा झन्डै ९० वटा श्यामश्वेत चित्र समावेश गरिएका छन् ।सरल भाषा र चित्रबाट तयार पारिएको उक्त पुस्तकमा समावेश गरिएका चित्र चिनियाँ चित्रकारद्वय तु मिङ छन् र याङ चिङ थाईले बनाएको श्वेतचैत्य व्यवस्थापन समितिका निर्देशक ह फैले जानकारी दिनुभयो ।पुस्तकमा समावेश गर्न तयार पारिएका ठूला चित्र समेटेर दुवै संस्थाले बेइजिङ र नेपालका विभिन्न सहरमा "चित्रकथामा अरनिको" शीर्षकको प्रदर्शनी गर्ने योजना बनाएका छन् । अरनिकोद्वारा बेइजिङमा निर्मित श्वेतचैत्य परिसरमा आगामी सन् २००९ को जनवरी महिनामा आयोजना गरिने प्रदर्शनी एक महिनासम्म चल्ने राष्ट्रिय समाचार समितिले जनाएको छ ।बेइजिङको प्रदर्शनी सकिएलगत्तै ती सबै चित्र नेपालमा प्रदर्शनी गरिने जनाइएको छ । नेपालको प्रदर्शनी सकिएपछि ती चित्र स्वामित्व र प्रतिलिपी अधिकारसहित नेपाललाई नै हस्तान्तरण गरिने नेपाल-चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराइले बताउनुभयो । सन् १२४४ मा पाटनमा जन्मिएका कलाकार अरनिको १६ वर्षको उमेरमा चीन गएका थिए । उनले तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलियालगायतका चीनका विभिन्न ठाउँमा मन्दिर, चैत्य र गुम्बा निर्माण गरेका थिए ।

No comments: