News

Feb 9, 2009

एक करोड रुपैयाँ पर्ने प्रचण्डको नयाँ गाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अबको १५ दिनपछि झन्डै एक करोड रुपैयाँ पर्ने नयाँ गाडी चढ्दै छन् । सरकारले उनका लागि जापानबाट मगाएको टोयोटा कम्पनीको अत्याधुनिक सुविधासम्पन्न ल्यान्डक्रुजर जिप भारतको कोलकाता आइपुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीकै लागि भनेर सरकारले तीन महिनाअघि चिलिमे जलविद्युत् परियोजनाबाट ९० लाख रुपैयाँमा बा१झ १०२९ नम्बर टोयोटा गाडी खरिद गरेको थियो । प्रधानमन्त्री प्रचण्ड अहिले सोही गाडी चढिरहेका छन् । केही दिनभित्रै आइपुग्ने नयाँ गाडीसँगै प्रधानमन्त्री प्रचण्डसित अब चारवटा गाडी हुनेछन् । यसअघि नै गृह मन्त्रालयले प्रधानमन्त्री प्रचण्डका लगि भनेर बा१झ ९२९३ र बा१झ ८२२० नम्बरको मर्सिडिज बेञ्च कार उपलब्ध गराएको थियो । तर, दुवै गाडी बालुवाटारमै 'स्टेन्डबाई' राख्दै प्रचण्ड विद्युत् प्राधिकरणको बा१झ १०२९ नम्बरको सेतो गाडी चढ्दै आएका थिए ।सरकारी खर्चमा मितव्ययिता ल्याउन मन्त्रिपरिषद्ले पाँच महिनाअघि जारी गरेको ९२ बुँदे निर्देशिकामा भने सवारी सुविधा पाउने अधिकारप्राप्त व्यक्तिले एकभन्दा धेरै सवारीसाधन प्रयोग गर्न नपाउने उल्लेख छ । यदि कसैले एकभन्दा धेरै गाडी प्रयोग गरेको भए सुविधा उपलब्ध गराउने र प्रयोग गर्ने दुवैलाई कारबाही गरिने निर्देशिकामा उल्लेख छ ।प्रधानमन्त्रीका लागि अत्याधुनिक सुविधासम्पन्न गाडी खरिद गर्न सरकारले अन्नपूर्ण वल्र्ड ट्रेडिङ प्रालिलाई ठेक्का दिएको थियो । सो प्रालिले जापानको टोयोटा मोटर कर्पोरेसन नामक कम्पनीबाट गाडी खरिद गरेको हो । दुई पक्षबीच भएको सम्झौता-पत्रअनुसार नयाँ गाडीका ढोकाहरू रिमोटबाटै खोल्न र बन्द गर्न सकिने छन् । दुई हजार आठ सय किलोग्राम तौल भएको गाडी दुई हजार नौ सय ८० देखि दुई हजार नौ सय ८५ सिसीसम्मको हुनेछ । ६ सिट सुविधा रहेको सो गाडीमा पाँचवटा ढोका रहेका छन् । गाढा खरानी रंगको उक्त जिप तराई-पहाड-हिमाल जतासुकै सजिलै कुदाउन सकिने सम्झौतापत्रमा उल्लेख छ । गाडी बुलेटप्रुफ भने होइन । तर, गाडीमा पाँच सय मिटर अगाडिसम्मको सडकको अवस्था हेर्न मिल्ने मनिटर भने रहने छ ।दुई पक्षबीच भएको सम्झौताअनुसार गत १२ पुसमै प्रधानमन्त्री कार्यालयमा नयाँ जिप आइपुग्नुपर्ने थियो । तर, अन्तिम समयमा अन्नपूर्ण वल्र्ड ट्रेडिङले दुई महिना समय बढाउन प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्‍यो । प्रधानमन्त्री कार्यालयले पनि ११ पुसमा दुई महिना समय थप गरेको थियो । नयाँ सहमतिअनुसार आगामी १२ फागुनभित्र अन्नपूर्ण वल्र्ड ट्रेडिङले प्रधानमन्त्री कार्यालयलाई जिप बुझाउनेछ ।'गाडी कोलकाता आइपुगेको जानकारी पाएका छौँ । चाँडै आइपुग्छ होला,' प्रधानमन्त्री कार्यालयका प्रवक्ता शारदाप्रसाद त्रितालले नयाँ पत्रिकासित भने । जिप आइपुग्दासम्म दुई पक्षबीच भएको सम्झौताभन्दा खरिदमूल्य पनि बढ्ने भएको छ । यद्यपि, प्रधानमन्त्री कार्यालयले यसबारे टुंगो भने लगाइसकेको छैन । सम्झौतापत्रमा ८९ लाख ९१ हजार रुपैयाँमा अन्नपूर्ण वल्र्ड ट्रेडिङले प्रधानमन्त्री कार्यालयलाई जिप दिने उल्लेख छ । तर, उसले गत १६ मंसिरमा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सवारीसाधनको करमा २० प्रतिशतले वृद्धि भएको दाबी गर्दै सोहीअनुसारको भुक्तानीका लागि अनुरोध गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयसित जानकारी मागेको थियो । अर्थले अन्तःशुल्क मात्रै १० प्रतिशतले वृद्धि भएको जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक खरिद अनुगमन इकाइसित यस सम्बन्धमा थप राय मागेको छ । तर, अझै जवाफ भने पाइसकेको छैन । 'अब एकपटक टेन्डर भइसकेकोमा थप रकम दिन मिल्छ कि मिल्दैन, के हुन्छ भनेर सार्वजनिक खरिद अनुगमन इकाइसित राय मागेका छौँ । तर, अझै जवाफ आइसकेको छैन,' प्रधानमन्त्री कार्यालयका प्रवक्ता त्रितालले भने ।वृद्धि भएको अन्तःशुल्कअनुसार सरकारले १० प्रतिशत बढाएर रकम भुक्तानी गरे प्रधानमन्त्री चढ्ने सुविधासम्पन्न नयाँ गाडीको मूल्य झन्डै एक करोड पुग्नेछ ।

No comments: