News

Feb 10, 2009

प्युठानको स्याउलीवाङमा हेलिकोप्टरमार्फत सर्च अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्युठानको स्याउलीवाङ प्रहरी चौकीमा शुक्रबार राति भएको आक्रमणमा संलग्नको खोजी गर्न प्रहरीले हेलिकोप्टरमार्फत सर्च अभियान तीव्र पारेको छ । प्युठान, रोल्पा, बाग्लुङ र गुल्मीका सिमानाबाट नाकाबन्दी गरेर खोजतलासकार्य तीव्र पारिएको मध्यपश्चिम क्षेत्रका प्रहरी नायव महानिरीक्षक मदनबहादुर खड्काले बताए ।प्रतिकूल मौसमका बीच उच्च सुरक्षा अधिकारी सोमबार स्याउलीवाङ गएका छन् । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । घेराबन्दीलगत्तै अपरेसन सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासनका कार्यालय प्युठानका अनुसार आक्रमणकारी लुकेको आशंकामा सम्भावित ठाउँमा हेलिकोप्टर सर्च गरिरहेको छ भने हेलिकोप्टरबाट डाँडा र जंगलमा प्रहरी झारेर खोजीकार्य तीव्र पारिएको छ ।जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी नायव उपरीक्षक माधव श्रेष्ठको कमान्डमा गएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ भने रोल्पा, दाङ र प्युठानबाट सयौं प्रहरीले घटनास्थल र आसपासको क्षेत्रलाई घेराबन्दी गरिरहेका छन् । घटनास्थलमा आक्रमणकारीको खोजीका लागि सशस्त्र र जनपद प्रहरी गरी करिब सयजना खटाइएको छ ।प्रहरीले आक्रमणमा परी ज्यान गुमाएका प्युठान चिसावाङ घर भएका प्रहरी जवान सुमन जिसीको शव सदरमुकाम ल्याएर परिवारलाई जिम्मा लगाएको छ । राति ११ बजेतिर स्वचालित आधुनिक हतियारसहित आएका करिब ५०/६० जनाको समूहले एक्कासि आक्रमण गर्दा सेन्ट्री बसेका प्रहरी जवान जिसीको मृत्यु भएको थियो । सदरमुकामदेखि १७ कोस टाढा रोल्पा र बाग्लुङको सिमानामा पर्ने अति विकट गाउँमा रहेको प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा १० प्रहरी कार्यरत थिए । आक्रमणकारीले प्रहरीका पाँच थान हतियार र सञ्चारसेट लुटेर लगेका छन् भने चौकी ध्वस्त पारेका थिए ।

No comments: