News

Feb 8, 2009

मुद्दा नचलाऊ भन्दै ७५ हजार रुपैयाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थायी परिवार नियोजन गराउँदा लापरबाहीका कारण मृत्यु भएकी मुक्तकमैया पोत्नी थारूको परिवारलाई मुद्दा नचलाउने सर्त राख्दै आइतबार मेरीस्टोप्स्ले ७५ हजार रुपैयाँ दिएको छ । पोत्नीको मृत्यु भएको ३६औं दिनमा मृतकका पति फूलपत थारूलाई गाउँका बडघर बलिराम थारूको रोहवरमा मुद्दा नचलाउने सर्तमा मेरीस्टोप्स्ले पैसा दिएको हो । मेरीस्टोप्स् बर्दियाकी संयोजक कविता राणाले मृतकका पतिलाई नचलाउने सर्त राख्दै उक्त रकम दिएकी हुन् । मेरीस्टोप्स्को लापरबाहीका कारण पोत्नीको ज्यान गएको भन्दै बर्दियाका अधिकारवादीहरूले घटनालाई गम्भीरताका साथ लिँदै छानबिन गर्न माग गरेको भोलिपल्ट नै मेरीस्टोप्स्ले पीडित परिवारलाई पैसा दिएर घटनालाई ढाकछोप गर्न खोजिएको हो । मेरीस्टोप्स्की संयोजक राणाले पीडित परिवारको गरिबीको फाइदा उठाउँदै कानुनी कारबाही नचलाउन फूलपतसँग आग्रह गरेको बडघर बलिरामले बताए । उनले भने, 'मुद्दा नचलाऊ भन्दै पैसा दिए ।'यता, महिला अधिकारवादीहरूले फूलपतको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै मेरीस्टोप्स्ले घटनालाई दबाउन खोजेको आरोप लगाएका छन् । उनीहरूले घटनाको छानबिन हुनैपर्ने अडान राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । १८ वटा अधिकारवादी संस्थाको समूह महिला मानवअधिकार सञ्जालले मेरीस्टोप्स्को कमजोरीका कारण पोत्नीको मृत्यु भएको निष्कर्ष निकाल्दै घटनाबारे छानबिन गर्न माग गर्दै आएको छ ।पोत्नीले मेरीस्टोप्स् गुलरियामा १८ पुसमा स्थायी परिवार नियोजन गराएकी थिइन् । परिवार नियोजन गराएको दिनदेखि नै दिसापिसाब गर्दा रगत बग्न सुरु भएको र त्यसको तीन दिनपछि २१ पुसमा उनको मृत्यु भएको थियो ।यता, मृतक पोत्नीकी अढाइ वर्षीया छोरी संगीता आमाको दूध खान नपाएर दिनरात रुने गरेकी छिन् । तर, उनलाई दूध खुवाउने पैसासमेत नभएको मृतक पोत्नीका श्रीमान् फूलपत थारूले बताए ।

No comments: