News

Feb 9, 2009

'मलाई स्वदेशी चलचित्रको माफिया भने पनि हुन्छ - युवराज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'मलाई स्वदेशी चलचित्रको माफिया भने पनि हुन्छ, दलाल भन्दा पनि फरक पर्दैन, स्वदेशी चलचित्रलाई माया गर्ने मान्छे भनेर चिनिदिए पुग्छ,' चलचित्र विकास बोर्ड सदस्य एवं निर्माता/निर्देशक युवराज लामाले भने । बोर्डमा सदस्य नियुक्त भएपछि उनका समर्थक र आलोचक दुवै बढेका छन् । यति साह्रो चर्चा र आलोचनाको कारण बनेको छ, चलचित्र विकास बोर्डले हालै ल्याएको चलचित्र प्रदर्शनसम्बन्धी नियमावली । लामाकै कारण यो नियमावली आएको भन्नेहरू धेरै छन् । पछिल्लो नियमावली पूरापूर स्वदेशी चलचित्र प्रवर्द्धनको पक्षमा छ । नेपाली सिनेमाको व्यवस्थित प्रदर्शन गर्न केही नियम बनाएको धारणा राख्ने लामा आफ्नो विरोध गर्नेहरूप्रति गुनासो नरहेको बताउँछन् । 'लोकतन्त्रमा जोसुकैलाई मन परेको कुराको समर्थन र चित्त नबुझ्ने कुरामा विरोध गर्ने अधिकार छ । आफ्नो अधिकारको सदुपयोग सबैले गर्न पाउनुपर्छ,' उनले भने । बोर्डको चलचित्र प्रदर्शनसम्बन्धी नियमावली कार्यान्वयन गर्न नदिन केही हल-मालिक र स्वयं चलचित्रकर्मी पनि लागेका छन् । भू-उपग्रहमार्फत नेपाली चलचित्र प्रदर्शन गर्न नदिएर प्रविधि रोक्न खोज्नुभो रे नि ? लामाले प्रस्टीकरण दिए, 'हो प्रविधिको बहानामा नेपाली फिल्मको साँचो विदेशीको हातमा पर्नुहुन्न, तर प्रविधिको नाममा कसैले पनि भ्रामक कुरा गर्न पाउँदैन ।' डिजिटल प्रविधिअन्तर्गत फिल्म चलाउँदा धेरै खर्च लाग्छ भन्दै केही व्यक्तिले भ्रम सिर्जना गरेको बताउने लामा भन्छन्, 'पाँचदेखि दस हजारको हार्डडिस्कबाट अनगिन्ती हलमा फिल्म चलाउन सकिन्छ ।' अहिले डिजिटल प्रविधि जडान गरेका केही हलमा फिल्म प्रदर्शन गर्ने निर्माताले प्रत्येक शोको निश्चित शुल्क तिर्नुपर्छ । नियमावलीमा हलमा फिल्म चलाएबापत निर्माताले थप शुल्क तिर्नुनपर्ने बताउँदै उनले भने, 'प्रतिशो निर्माताबाट रकम असुल्नु गैरकानुनी काम हो, अब यस किसिमका गैरकानुनी काम गर्नेलाई करको दायरामा ल्याउन बोर्डले पहल गर्छ ।' विदेशी फिल्मको कारोबार गर्नेहरूप्रति निकै आक्रोशित रूपमा प्रस्तुत हुन्छन् यी सिनेकर्मी । तर, सबैलाई एउटै आँखाले हेर्न नहुने बताए । भन्छन्, 'विदेशी फिल्मको कारोबार गर्नु अपराध होइन, राज्यले तोकेको कर तिरेर पारदर्शी रूपमा व्यवसाय गर्नेहरूलाई सम्मान गर्नुपर्छ, तर जो राज्यलाई झुक्याएर, कर छलेर काम गर्छ, तीचाहिँ असली माफिया हुन् ।' स्वदेशी चलचित्रको खोल ओढेर विदेशी फिल्मको कारोबार गर्नेलाई सबैभन्दा घातक प्राणीका रूपमा लिन्छन् लामा । यसपालिको नियमावली आमस्वदेशी चलचित्रकर्मीको सुझावपछि आएकोले सहजै कार्यान्वयन हुने बताए ।

No comments: