News

Sep 1, 2009

मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १७- प्रधानमन्त्री माधवकुमार नेपालले तीन मधेशी दल र जनशक्तिका ११ जनासहित १२ सदस्य थपी बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको जानकारी स्रोतले दिएका छन्। जेठ ११ मा प्रधानमन्त्री भएका नेपालले छैटौंपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। विस्तारपछि मन्त्रिपरिषद् ४५ सदस्यीय हुने सम्भावना छ। हाल मन्त्रिपरिषद् ३३ सदस्यीय छ। यो मन्त्रिपरिषद् २०५२ सालको शेरबहादुर देउवा सरकारपछिको जम्बो हुनेछ। नेपालले यसअघि जेठ २१ असार ३ असार १० असार १९ र साउन १४ मा मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। प्रधानमन्त्रीले मंगलबार गृह सचिव गोविन्द कुसुमलाई फोन सम्पर्क गरी मन्त्रिपरिषद् विस्तार हुने उल्लेख गर्दै थप हुने १२ मन्त्रीलाई गाडीको व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा फोन सम्पर्क गरी सपथग्रहण कार्यक्रमको तयारी गर्नसमेत आग्रह गरिसकेका छन्। स्रोतका अनुसार मधेशी जनअधिकार फोरम लोकतान्त्रिक का ६ जना, तराई मधेश लोकतान्त्रिक पार्टीका २, सद्भावनाका २ र जनशक्ति पार्टीका १ मन्त्री थपिनेछन्। थप एक मन्त्री २२ दलीय गठबन्धनमा रहेका साना दलमध्येबाट हुन सक्ने सम्भावना स्रोतले औंल्याएको छ। तर ठूला सत्तारुढ दल कांग्रेस र एमालेबाट मन्त्री थपिने सम्भावना छैन।कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई पार्टीका तर्फबाट उपप्रधानमन्त्री बनाउन दबाब दिइरहेका छन्। तर पार्टीले कार्यसमितिबाटै निर्णय गरी कसैलाई पनि उपप्रधानमन्त्री बनाउन सिफारिस नगरेको सार्वजनिक गरेकाले प्रधानमन्त्री नेपाललाई सुजातालाई उपप्रधानमन्त्री बनाउन अप्ठ्यारो परिरहेको छ।फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीसमक्ष आफ्नो पार्टीबाट एक मन्त्री ४ राज्य र एक सहायक मन्त्री बनाउन सिफारिस गरेका छन्। उनले एक मन्त्रीका लागि सर्वदेव ओझाको नाम सिफारिस गरेका छन्। उनलाई फोरम लोकतान्त्रिक को भागमा परेको महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइनेछ।गच्छदारले राज्य मन्त्रीका लागि करिमा बेगम शत्रुघन कोइरी साजय साह मोहम्मद वकिल अन्सारी र रामवच्चन यादवको नाम तय गरेका छन्। यी पाँच जनामध्ये चार जनालाई फोरमको कोटामा परेका भौतिक योजना तथा निर्माण पर्यटन कृषि र महिला तथा बालबालिका मन्त्रालयमा राज्यमन्त्री बनाइनेछ। गच्छदारले सभासद् कलावती दुसाध पासवानलाई सहायक मन्त्रीमा सिफारिस गरेका छन्। मन्त्रिपरिषद् विस्तार गरी फोरम लोकतान्त्रिक का ९ सदस्य हुनेछन्। लोकतान्त्रिक कृषि तथा सहकारी मन्त्रालयलाई टुक्र्याएर अर्को मन्त्री थप्ने तयारीमा छ।तमलोपाबाट एक राज्य मन्त्री र एक सहायक मन्त्री थपिने भएको छ। तमलोपाका उच्चस्तरीय नेताहरुको बैठकले बुधबार बिहान राज्यमन्त्री र सहायक मन्त्रीको नाम तय गर्ने भएको छ। स्रोतका अनुसार राज्यमन्त्रीमा ईश्वरदयाल मिश्र र गोविन्द चौधरी तथा सहायक मन्त्रीमा सुमित्रादेवी राय र चन्दा चौधरीलाई बनाउनेबारेमा छलफल भइरहेको छ। बुधबारको बैठकले मिश्र र चौधरीमध्ये एकलाई राज्य र राय र चौधरीमध्ये एकलाई सहायक मन्त्रीमा सिफारिस गरिनेछ। उनीहरुलाई शिक्षा र युवा तथा खेलकुद मन्त्रालयमा राज्य मन्त्री र सहायक मन्त्री बनाइनेछ। तमलोपाको कोटामा परेको उद्योगमा यसअघि नै राज्य मन्त्री छन्। मन्त्रिपरिषद् विस्तारपछि तमलोपाका मन्त्रीको संख्या ६ जना पुग्नेछ। सद्भावनाका अध्यक्ष एवं मन्त्री राजेन्द्र महतोले आफ्नो पार्टीबाट मन्त्री बनाउन बनाउन दुई जनाको नाम सिफारिस गरेका छन्। उनले पार्टीका नेता लक्ष्मणलाल कर्णलाई मन्त्री र सरोज यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेका हुन्। सद्भावनाका तीन जना मन्त्री पुग्नेछन्। सद्भावनाले वातावरण या विज्ञान तथा प्रविधिमध्ये कुनै मन्त्रालय आफ्नो पार्टीलाई दिन माग गरेको छ। 'बुधबार मन्त्रिपरिषद् विस्तार हुन्छ सदस्यहरुको कार्यविभाजनपछि हुनेछ'- महतोले भने। राष्ट्रिय जनशक्ति पार्टीबाट एक जनालाई राज्य मन्त्री बनाइनेछ । राजपाबाट इन्द्रपसाद ढुंगेललाई विज्ञान तथा प्रविधि राज्य मन्त्री बनाउन प्रधानमन्त्रीलाई सिफारिस गरिसकिएको जानकारी प्रवक्ता किरण गिरीले दिए।

No comments: