लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य झाङ गाओलीसहितको १७ सदस्यीय टोली पाँचदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेको छ। काठमाडौं आइपुगेलगत्तै टोलीले पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार नै भेट गरेको थियो। भेटमा माओवादीले थालेको देशव्यापी आन्दोलन, प्रमुख प्रतिपक्षी दल माओवादी सरकारबाट बाहिरिएपछिको स्थिति, वर्तमान राजनीतिक तरलता, नयाँ संविधान निर्माण र शान्ति प्रक्रियाका बारेमा छलफल भएको बुझिएको छ।भेटमा माओवादी अध्यक्ष प्रचण्डसँग टोलीले चीनविरोधी गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै सोको नियन्त्रणका लागि नेपालले विशेष पहल गर्नुपर्नेमा जोड दिएको थियो। प्रत्युत्तरमा प्रचण्डले एक चीननीत्रि्रति नेपाल सरकार र अधिकांश दलबीच मतैक्यता रहेकाले ढुक्क हुन आग्रह गर्नुभएको बताइएको छ।टोलीले यहाँको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा विशेष जिज्ञासा राखेको थियो। माओवादी प्रतिपक्ष र एमाले सत्तापक्षमा रहेका कारण वामघटकहरूबीच बढ्दो दूरी कम गर्नुपर्ने धारणा चिनियाँ पक्षले उठाएको एक माओवादी नेताले जानकारी दिए।तत्कालीन प्रधानमन्त्री प्रचण्डको गत वैशाखको अन्तिम समयमा आएर चीन भ्रमण रद्ध भएको थियो। प्रचण्डले देशको विषम राजनीतिक परिस्थितिका कारण आफू चीन भ्रमण नजाने निर्णयगरेको केही हप्तामा उहाँले राजीनामा दिनुभएको थियो। माओवादी सरकारबाट बाहिरिएपछि प्रचण्डलाई भेट्ने यो नै पहिलो उच्चस्तरीय टोली हो। चिनियाँ दूतावासका एक अधिकारीले भ्रमण नियमित र औपचारिक मात्रै भएको बताए। उनले नेपाल र चीनका कम्युनिस्ट पार्टीका बीच सुमधुर सम्बन्ध रहेको बताउँदै भ्रमणबाट सम्बन्ध अझै विस्तार हुने आशावादी रहेको बताए। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न टोली नेपाल आएको संकेत गर्दै नेपाल समाचारपत्रसँग भने- ‘नेपाल चीनबीच द्विपक्षीय सम्बन्ध र दलीय सम्बन्ध राम्रो छ, आपसमा राजनीतिक परिस्थितिबारे चासो हुनु कुनै नौलो कुरा होइन।’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे समेत टोलीले प्रमसँग छलफल गर्ने जानकारी दिए। ‘प्रचण्डको भ्रमण रद्ध भएसँगै यहाँका सरकारप्रमुखलाई भ्रमणमा आउन चीनले आग्रह गर्दै आएको हो’, उनले भने- ‘टोलीले प्रमसँग भ्रमणको तयारी र द्विपक्षीय हित र चासोबारे छलफल गर्ने बुझेका छौं।’चीनले भ्रमणमा आउन यसअघि नै प्रमलाई औपचारिक आग्रह भने गरिसकेको छ। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई स्वागत गर्न परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, एमालेका प्रभावशाली नेता केपी शर्मा ओली, परराष्ट्र मन्त्रालयमा चीन शाखा हेर्ने सहसचिव अरूणप्रसाद धिताल र नायब शिष्टाचार महापाल तापस अधिकारी पुग्नुभएको थियो। टोलीले आज मंगलबार बिहान ८:३० मा प्रधानमन्त्री माधवकुमार नेपाल, दिउँसो १:३० बजे राष्ट्रपति डा. रामवरण यादव र अपराहन परराष्ट्रमन्त्री सुजाता कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। सो टोली पाँचदिने भ्रमण पूरा गरी आगामी शनिबार स्वदेश फर्किने परराष्ट्रका ती अधिकारीले बताए।
No comments:
Post a Comment