News

Sep 1, 2009

पूर्व युवराज पारस जाली नोटको कारोबारमा संलग्न रहेको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५ पूर्व युवराज पारस शाह दाउद इब्राहिमसित मिलेर जाली नोट भारत पठाउने अवैध काममा संलग्न रहेको हुनसक्ने अनुसन्धानबाट खुलेको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन्। दाउड भारतले सर्वाधिक खोजी गरिरहेका अन्डरवर्ल्ड डन हुन्। सोमबार भारतीय टेलिभिजन च्यानलहरु आजतक, हेडलाइन्स टुडे, तेज, इन्डिया टिभीले यो समाचारलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका थिए।टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा सोमबार साँझ प्रकाशित समाचार अनुसार नक्कली नोटका साथ पक्राउ परेका दुई नेपालीसितको सोधपूछका क्रममा यो रहस्य खुलेको हो।अनलाइनमा मध्यप्रदेशमा ती दुई नेपाली पक्राउ परेको भनिए पनि उनीहरुको नाम खुलाइएको छैन। समाचार अनुसार शाही कालका पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारी पारस र दाउड इब्राहिमको सम्पर्क सूत्रका रुपमा रहेका थिए। 'दाउड इब्राहिमले जाली नोट छाप्ने र उत्पादन गर्ने गर्थे भने पारसले बाहिरी देशबाट आएका त्यस्ता जाली नोटलाई भारतीय सीमामा सुरक्षित रुपमा पुर्‍याउन आफ्नो शक्ति प्रयोग गर्थे', अनलाइनमा अनुसन्धानको प्रतिवेदनलाई उदधृत गर्दै लेखिएको छ। त्यसैगरी भारतीय टेलिभिजन च्यानल 'आजतक' ले उत्तरप्रदेशको बहराइचमा नक्कली नोटसहित पक्राउ परेका विक्की मनिहारले बयानका क्रममा पारसको नाम पोलेको बताएको छ। 'आजतक' भन्छ, 'मनिहारले पोल्नुअघि नै भारतीय जासुसी एजेन्सीलाई नेपालको राजघराना यसमा स‌ं‌लग्न भएको हुनसक्ने थाहा भइसकेको थियो। गृह मन्त्रालयलाई गएको महिना बुझाइएको गोप्य प्रतिवेदनमा पनि यसलाई स्पष्ट उल्लेख गरिएको छ''आजतक'ले पारस सिंगापुरमा बसेर पनि नक्कली नोटको कारोबारमा स‌‌ंलग्न हुनसक्ने श‌ंका गरेको छ। 'हेडलाइन्स टुडे' र 'तेज' टिभीले भारतीय अर्थव्यवस्थालाई कमजोर पार्ने षड्यन्त्रका मास्टरमाइन्ड पारस हुनसक्ने भन्दै समाचार प्रसारण गरेको छ।

No comments: