लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १८ - कायममुकाय प्रधानसेनापति छत्रमानसिंह गुरुङले सरकार, सेना र राजनीतिक दलहरूलाई भ्रममा पार्न नियोजित षड्यन्त्र भइरहेको बताएका छन् । उनले बुधबार जंगी अड्डामा उच्च सैनिक अधिकारीहरूलाई यस्ता षड्यन्त्रमा नफस्नसमेत निर्देशन दिएका छन् । बुधबार प्रकाशित दुई साप्ताहिकले आफूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अन्य उच्च नेताहरूसँग भेटेको भनी छापिएको समाचार सत्य नभएको उल्लेख गर्दै कामु सेनापति गुरुङले आफूलाई बदनाम गर्ने उद्देश्यले समाचार आएको बताएको स्रोतले जनाएको छ । उनले समाचारमा उल्लेख गरिएको दिन शुक्रबार आफू बिदामा रहेका सेनापति रुक्मांगद कटवाललाई भेट्न र निवास निरीक्षण गर्न शशिभवन गएको तथा शनिबार दिनभर प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा व्यस्त रहेको उल्लेख गरेका थिए । यसैबीच सैनिक जनसम्पर्क निर्देशनालयले ती साप्ताहिक पत्रिकाहरूले प्रकाशित गरेको समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको उल्लेख गरेको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कामु सेनापति गुरुङले कुनै भेटाघाट तथा कुराकानी नगरेको र माओवादी नेताहरू रहेको कार्यक्रममा उपस्थित पनि नभएको उल्लेख छ ।
No comments:
Post a Comment