News

Apr 5, 2010

बाजुरामा भोकमारी, एक किलो नुनको ४० रुपियाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(डोटी), एक किलो आयोडिन नुनको ४० रुपियाँ पर्छ भन्दा पत्याउनुहुन्छ- सायद पत्याउनुहुन्न होला तर सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराका जनताले विगत ३ महिनादेखि यो पीडा भोग्दै आएका छन्। साल्ट ट्रेडिङ कार्यालय धनगढी तथा नेपाल खाद्य संस्थान कैलालीले समयमै बाजुरा जिल्लामा खाद्यान्न तथा नुन ढुवानी गर्न नसक्दा यो समस्या उत्पन्न भएको हो। साल्ट ट्रेडिङ कार्यालय धनगढीले बाजुरा जिल्लामा प्रति १ किलो नुन ९ रुपियाँमा बिक्री गर्ने गरे पनि विगत ३ महिनादेखि नुन पुर्याउन नसकेका कारण स्थानीय बासिन्दाहरू बजारमा प्रति १ किलो नुनको ३० देखि ४० रुपियाँ तिरेर खान थालेको बाजुरा बाह्रबीसका लोकेन्द्रले बताए।लोकेन्द्रका अनुसार सदरमुकामदेखि टाढाका जनताहरू नुन नभएको अलिनो खाना खान थालेका छन्। त्यसै गरी खाद्य संस्थान कैलालीले समयमै बाजुरामा खाद्यान्न ढुवानी गर्न नसकेका कारण स्थानीय बासिन्दा भोकै बस्न बाध्य भएका छन्। ३०/४० रुपियाँ तिरेर नुन किन्न खोज्दा समेत बजारमा पर्याप्त मात्रामा नुन पाइँदैन, काखको दूधेबालक छोडी नुन तथा चामलका लागि दिनभरको बाटो हिँडी कोल्टी खाद्य डिपोमा पुग्नुपर्छ, दिनभर लाइनमा बसी बेलुकीपख ४/५ किलो चामल लिएर फर्किनुपर्छ। त्यो चामल एक छाक हुन्छ, बाजुरा गुदुखाती गाविसकी ३५ वर्षीया गंगा गिरीले दुःखेसो पोखिन्।

No comments: