लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २४,वीपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनीषा कोइरालाको बिहे नेपाली व्यापारी सम्राट दाहालसित हुने भएको छ। अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली भएका सम्राट हाल महाराजगञ्ज बस्ने गर्छन्।सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्। आज प्रकाशित दि हिमालयन टाइम्सले जनाएअनुसार, बिहेको छिनोफानो सोमबार भएको हो। पुरोहितहरुले असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुराएका छन्। यद्यपि, पत्रिकाका अनुसार यसको औपचारिक घोषणा भने भएको छैन। मनीषा र सम्राटको अफेयर धेरै वर्षअघिदेखि चलेको भए पनि तीन हप्ताअघि मात्रै मनीषाले सम्राटसितै जीवन बिताउने निधो गरेकी थिइन्। मनीषाका पितालाई उद्धृत गर्दै टाइम्सले लेखेको छ- उनी सुशिक्षित छन् र राम्रो पारिवारिक पृष्ठभूमिका हुन्, म उनलाई मन पराउँछु र छोरीको निर्णयको सम्मान गर्छु' । मनीषाको फिल्म क्षेत्रमा प्रवेश नेपाली चलचित्र फेरि भेटौँलाबाट भएको थियो। त्यसपछि उनले सौदागरमार्फत् बलिउडमा ब्रेक पाइन्। विधुविनोद चोपडाको निर्देशनमा बनेको १९४२: अ लभ स्टोरीले उनको अभिनय करिअरलाई अझ उठाएको थियो। पछिल्ला दिनमा भने उनको खासै चर्चा बलिउडमा छैन।
No comments:
Post a Comment