News

Apr 6, 2010

धनकुटा र सङ्खुवासभामा विशाल लिम्बुवानी आमसभा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङ्बुङ,
धनकुटा चैत्र २४ २०६६/संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाहरु सङ्खुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ र तेह्रथुमलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार तथा आई. एल. ओ. महासन्धि १६९ र यूएन्ड्रिप अनुसारको विशिष्ट स्वायत्ततासहितको स्वायत्त राज्य घोषणा गराउन २०६६ चैत्र २५ गते धनकुटाको पाख्रीवास र २७ गते सङ्खुवासभाको खाँदवारीमा विशाल लिम्बुवान आमसभा हुँदैछ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद राज्य(केन्द्रीय) कार्य समितिको निर्णय र जिल्लाका कार्य समिति धनकुटा तथा सङ्खुवासभाको आयोजनामा भइरहेको उक्त आमसभाहरुको बीचमा चैत्र २६ गते सङ्खुवासभास्थित् अरुणनदीको किनारमा अवस्थित् लिम्बुवानी महान सेनापति काङसोरेले पृथ्वीनारायण शाहको फौजसँग लडाइँ गरेको युद्धस्थल तथा काङ्सोरेको समाधिस्थलमा एक श्रद्धाञ्जलिसभासमेत गरिँदैछ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका पनि केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'को प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रमहरुमा तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ, संघीय लिम्बुवान राज्य परिषदका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङगाई धिमाल, संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य डम्बर राई, संघीय याक्खा स्वायत्त परिषदका संयोजक निङलाहाङ याक्खा र संघीय लिम्बुवान राज्य परिषदका वैकल्पिक केन्द्रीय सदस्य संगम खनाललगायतले प्रमुख रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।त्यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम, संघीय लिम्बुवान राज्य परिषदका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, महासचिव सूर्य माखिम, महासचिव फक्ताङलुङ योङहाङ र संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङलगायत अन्य स्थानीय वक्ताहरुले पनि उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।हाल, संविधान निर्माणको मुख्य कामलाई पर सारेर प्रमुख दलहरु सरकारको कुर्सीकै विषयमा बाझाबाझ गरिरहेको बेला संविधान नै नबन्ने वा नबनाउने सम्भावना बढेर गइरहेको छ । संविधान बनाए पनि जनताले चाहेकोजस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्ने सम्भावना कममात्र रहेको छ । यही मौका छोपेर संघीयता र धर्मनिरपेक्षता विरोधी अवाञ्छित तत्वहरुले टाउको उठाउने कोसिस गरिरहेका छन् । अर्कोतिर, राज्यको पुनस्रंरचना तथा राज्यशक्तिको बाँडफाँड गर्नेक्रममा जातीय पहिचान र ऐतिहासिकतालाई स्वीकारसम्म गरेकोजस्तो देखिए पनि लिम्बुवानलगायतका क्षेत्रहरुमा रहेका अभिन्न ऐतिहासिक भूमि र जातिहरुलाई टुक्र्याई जबर्जस्त अलगअलग राज्यहरुमा गाभेर संघीयता र स्वायत्तता तथा आत्मनिर्णयको अधिकारको मर्मलाईसमेत लत्याउने दूष्प्रयास र गम्भीर षडयन्त्र भइरहेको बेला आयोजना गरिएको उक्त कार्यक्रमहरुले स्थानीय जनता, जाति र सरकारलाईसमेत सजग र सचेत गराउने अपेक्षा गरिएको छ ।सम्पूर्ण तयारी पूरा गरिएको कार्यक्रमको प्रचार-प्रसारका लागि अपील, पोष्टर र भित्तेलेखन गरी धनकुटा र सङ्खुवासभालगायत नौवटै जिल्लाका तमाम् लिम्बुवानवासीहरुलाई उपस्थित् भई उक्त सभाहरुलाई सफल पार्न आह्वानसमेत गरिएको छ ।

No comments: