News

Apr 15, 2010

खाँदवारीमा लिम्बुवानको आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,सङ्खुवासभा/डीबी आङबुङ
चैत्र २७, २०६६/ संघीयता, गणतन्त्र र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको जातीय स्वायत्तताका लागि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संविधानसभामा प्रस्तावित लिम्बुवानको अपूरो खाकाप्रति असहमति जनाउँदै त्यसलाई सच्याएर सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने उद्देश्यले 'मिशन डीएस' नामकरण गरी धनुकुटा र सङखुवासभामा आन्दोलनलाई केन्द्रीत गर्दै २०६६ चैत्र २७ गते खाँदवारी सङ्खुवासभामा विशाल लिम्बुवान र्यालीका साथ आमसभा सम्पन्न गरेको छ । 'मिशन डीएस'अन्तर्गत चैत्र २५ गते पाख्रीवास धनकुटामा विशाल लिम्बुवानी आमसभा र चैत्र २६ गते अरुणनदी किनार-सभायाखोला दोभान लिम्बुवानी सेनापति काङ्सोरेले पृथ्वीनारायण शाहको फौजसँग लड्दा सहादत् प्राप्त गरेको ठाउँमा एक श्रद्धाञ्जलिसभा गर्दै चैत्र २७ गते सङ्खुवासभाको खाँदवारीमा अर्को विशाल लिम्बुवानी आमसभा सम्पन्न गरेको हो । सङ्खुवासभा धनकुटा तेह्रथुमलगायत लिम्बुवानका नौवटै जिल्लाका नेता तथा कार्यकर्ताहरुको समेत व्यापक उपस्थिति रहेको खाँदवारीको उक्त आमसभा हुनुअघि उपस्थित जनमासले विभिन्न नारा, जुलुश, झण्डा, प्लेकार्ड, व्यानर र साँस्कृतिक नाच केःलाङ्सहित खाँदावारी बजारको परिक्रमा गरेको थियो । र्यालीमा 'सङ्खुवा-अरुणपूर्व ९ जिल्ला लिम्बुवान कायम गर; केन्द्रीकृत एकात्मक सत्ता मुर्दावाद; संघीय गणतन्त्र नेपाल जिन्दावाद; लिम्बुवान भूमि टुक्र्याउन पाइँदैन; आई. एल. ओ. महासन्धि १६९ कार्यान्वयन गर; महान लिम्बुवानी शहीदहरु अमर रहून्; लिम्बुवान आन्दोलन जारी छ; संघीयता विरोधी मुर्दावाद; आत्मनिर्णयको अधिकार सुनिश्चित गर; संघीय गणतान्त्रिक संविधान जारी गर; सङ्खुवासभा जिल्लालाई टुक्राउन पाइँदैन; लिम्बुवान हाम्रो घर हो नेपाल हाम्रो देश हो; सम्पूर्ण लिम्बुवानवासीहरु एक होऔं र हाम्रो आन्दोलन जारी छ' भन्नेलगायतका नाराहरु लगाइएको थियो ।नगर परिक्रमा गरिएको जुलुश खाँदवारीको टुडिखेलमा जम्मा भएपछि औपचारिक आमसभाको शुरु भएको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपको अध्यक्षमा सम्पन्न उक्त आमसभाको उद्घोषण परिषदका सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङले गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्च र सम्वद्ध परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले साधारण अर्थमा संघीयता स्वायत्तता र लिम्बुवान आन्दोलनबारे सर्वसाधारणलाई जानकारी गराउँदै भने- 'संघीयता भनेको साधारण अर्थमा सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी र डीएसपी आदि सङ्खुवासभा वा लिम्बुवानकै जनताले नियुक्त गर्न पाउनुपर्छ भनेको हो ।' त्यसैगरी लिङदेनले अब संघीयता र स्वायत्तताको आन्दोलन गर्नेहरुले संघीयता र स्वायत्तताका विरोधी एकात्मकवादीहरुको विरुद्धमा वैचारिक लडाइँ लड्नुपर्ने कुरा औंल्याउँदै एकात्मकवादीहरुले संघीयताको विरोध गर्नु वा नचाहनु भनेको देश संघीयतामा गएपछि पहिलेको एकात्मक-केन्द्रीकृत शासनव्यवस्थामा जस्तो पहिल्यैदेखि शासन-प्रशासनमा हाली-मुहाली गरी रजाइँ गर्नेहरुको उक्त अवसर टुट्ने भएको डरले संघीयताको विरोध गरेको बताए । साथै लिङदेनले आफूहरु र आफ्नो सङगठन कुनै पनि देशी विदेशी चलखेलको विरुद्धमा रहेको राज्यसत्तामा रहनेहरु कुर्सीकै होडवाजी र हानथापमा मात्र रहेकाले संविधाननै नबन्ने खतरा रहेको, संविधान बनाए पनि संक्षिप्त संविधान बनाउने षडयन्त्र भइरहेको जनाउँदै ती सबै कुकृत्यहरुको खुलेर विरोध गरे । यसैगरी अरुहरुले आफूहरुलाई विखण्डनकारी र क्षेत्रीयतावादी भनेर आरोप लगाउने गरेकोप्रति प्रष्ट्याउँदै आफू र आफ्नो संगठन माच र माचसम्बद्ध लिम्बुवान कहिल्यै पनि विखण्डनवादी र क्षेत्रीयताको पक्षधरमात्र नभई समग्र देशकै जनता तथा आदिवासी जनजातिहरुको मुक्ति, उन्नति, प्रगति र विकासका लागि राजनीतिक लडाइँ गर्ने प्रतिवद्धतासमेत लिङदेनले जनाए । त्यसैगरी, मञ्च र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सम्पूर्ण नेपाली जनता आदिवासी जनजाति, दलित उत्पीडित समुदाय र महिला सबैको हित र हक अधिकारको सुनिश्तिताको लागि आन्दोलित भइरहेकोले समस्त नेपाली जनता तथा लिम्बुवानी जनताहरुलाई संघीयता, स्वायत्तता र लिम्बुवानीवासी जनताको हितका लागि सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको पूर्ण नौ जिल्ला लिम्बुवानको पक्षमा उभिएर विभिन्न षडयन्त्रको मुकाविला गर्नसमेत अध्यक्ष 'मिराक'ले आह्वान गरे । आफ्नो सम्बोधनमा अध्यक्ष लिङदेनले लिम्बुवानका लागि आर्थिक विकास र सामाजिक सदभावमा जोड दिँदै सङ्खुवा-अरुण-सप्तकोशी पूर्वका नौ जिल्लाको संवैधानिक सुनिश्चिता भएपछि छिमेकी खम्बुवान/किरात राज्यवासीसँग सुसम्बन्ध कायम गर्न सिमानदी अरुणबाट हुने सम्पूर्ण आयस्रोत लिम्बुवान र खम्बुवान/किरातले आधाआधा बाँडेर प्रयोग गर्ने लिम्बुवानको बाटो भएर खम्बुवान/किरातमा आवतजावत गर्ने सवारी साधनलाई जस्तोसुकै परिसिस्थिमा पनि लिम्बुवानले अवरोध नगर्ने लिम्बुवानी सम्पूर्ण आदिवासी जनजातिलाई समान हक अधिकारको ग्यारेण्टी गरिने र लिम्बुवानमा बसोबास गर्नै गैर आदिवासी जनजाति क्षेत्रीबाहुन र दलितहरुले पनि उत्तिकै अवसर पाउने कुरामा जोड दिनुभयो । साथै भौगोलिक र सामरिक हिसाबले पनि सङ्खुवा अरुणपूर्व नौ जिल्ला लिम्बुवान नै कायम गर्नु आवश्यक रहेको र नौ जिल्ला लिम्बुवान भएपछि छिमेकी देश र राज्यहरुसँग व्यापारिक सुसम्बन्ध बढाएर अरुभन्दा चाडै नै नेपालकै नमुना विकसित र शान्तिपूर्ण लिम्बुवान बनाउन सकिने कुरामा आश्वस्त तुल्याउनु भयो । आमसभालाई सम्बोधन गर्ने क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिमले भने- '२०४७ सालमा मुठिभर व्यक्तिहरुले बनाएको संविधान फाल्नको लागि त नेपाली जनताले हजारौको वलिदानी दिनुपर्यो, अब कतै हामीले नचाहेको गलत संविधान बन्यो भने यसलाई फाल्न झन धेरै समय र वलिदानी दिनुपर्ने हुन्छ । त्यसैले यो संविधान बन्न अगावै हामीले चाहेको जस्तो संविधान निर्माण गर्नका लागि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने' बताउनु भयो । सम्बोधनकै क्रममा महासचिव माखिमले भने- अहिले संविधान सभामा प्रस्ताव गरिएको लिम्बुवानलगायतको राज्यहरुको अपूरो र अतिक्रमित खाकाले विद्रोहलाई रोक्न नसक्ने ठोकुवा गर्नुभयो । यसका लागि जनताले चाहेको जस्तो जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा राज्यको पुनसंरचना गर्नुपर्ने कुरामा जोड दिनुभयो । अर्का अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्थ सचिव तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङले लिम्बुवानमैजस्तो तामाङसालीङको पनि ऐतिहासिक भूमिलाई अतिक्रमण गरेर राज्यको पुनस्रंरचना समितिले संविधान सभामा प्रस्ताव गरेको गरेकोले आफूहरु आन्दोलित भइरहेको बताउनु भयो । अतिथि तामाङले सम्पूर्ण लिम्बुवानवासी तामाङलगायत समस्त आदिवासी जनजाति, क्षेत्री ब्राह्मण र दलित समुदायलाई निर्धक्क भएर लिम्बुवान प्राप्तिको अभियान र आन्दोलनमा लाग्न आग्रह गर्नुभयो । उहाँले पनि भोलिको लिम्बुवानमा सम्पूर्ण लिम्बुवानवासी जनताको हक अधिकारको सुनिश्चिता हुने बताउनु भयो ।यसैगरी मञ्चसम्बद्ध लिम्बुवानका महासचिव सूर्य माखिमले राज्यको पुनसंरचना गर्दा अरुणपूर्व नौ जिल्ला लिम्बुवान कायम गर्नुपर्ने, सङ्खुवासभालाई कुनै पनि हालतमा लिम्बुवानबाट टुक्राउनु नहुने र लिम्बुवानवासीले लिम्बुवानलाई आफ्नो घर र नेपाललाई आफ्नो देशको रुपमा स्वीकार्नुपर्ने बताउनु भयो । त्यसरीनै अर्का महासचिव तथा लिम्बुवान भोलेण्टियस्रका कमाण्डर फक्तालुङ योङहाङले आफ्नै भूमिमा आफ्नै भूमि मुक्तिको लागि कसैलाई प्रताडित नगरीकन लिम्बुवान आन्दोलनलाई यहाँसम्म ल्याउन सकेकोमा आफूहरुलाई गर्व लागेको कुरा बताउनु भयो । सभालाई सम्बोधन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङले महिला मुक्तिको नाराले मात्र महिलाको मुक्ति नहुने र सम्पूर्ण लिम्बुवानवासी महिलाहरु नौ जिल्ला लिम्बुवान प्राप्तिको लागि एकमुठी श्वास भइञ्जेलसम्म लागिपर्नुपर्ने बताउनु भयो । सभालाई मञ्चसम्बद्ध लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, ज्ञानुहाङ इम्बुङ, केन्द्रीय सदस्य इन्द्र श्रेष्ठ, अमृता थेबे, संगम खनाल र संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका नेतृत्वलेसमेत सम्बोधन गर्दै सङ्खुवा-अरुण सप्तकोशीपूर्वको नौ जिल्लालाई जसरी पनि लिम्बुवान राज्यको रुपमा संवैधानिक सुनिश्चितता गराउनु पर्नेमा जोड दिए । प्रमुख अतिथि कुमार लिङदेन 'मिराक'बाट पानसमा द्वीप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको उक्त आमसभामा उपस्थित अतिथि तथा जनमासलाई स्थानीय संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका नेता विश्वास लोहोरुङले मन्तव्यमार्फत स्वागत गरेका थिए । स्थानीय च्याबु्रङ नाच र तामाङजातिको डम्फू नाचका साथ विभिन्न साँस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरिएको कार्यक्रममा नृत्यकार जस्मिन लिम्बू र एलभीले विभिन्न नृत्यसमेत प्रस्तुत गरेका थिए । साथै, भूपू डीएसपी तथा लिम्बुवानका राष्ट्रिय पार्षद सदस्य कृष्णमान थेबेले शहिद 'काङसोरे र लिम्बुवान' शीर्षकको कविता वाचन गरेका थिए । आभसभलाई स्थानीय खाँदवारीवासीले शुरुदेखि अन्तसम्म उत्सुकताका साथ हेर्दै सुनेका थिए ।

No comments: