News

Jun 5, 2010

सशस्त्र भूमिगत कार्यकर्ता धमाधम पक्राउ पर्न थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा, २२ जेठ,जिल्लाका विभिन्न स्थानमा प्रहरीले व्यापक गस्ती बढाएपछि सशस्त्र भूमिगत कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ पर्न थालेपछि भूमिगत समूहका कार्यकर्तामा भागदौड सुरु भएको छ ।
पछिल्लो महिना दिनमै करिब आधा दर्जन सशस्त्र कार्यकर्ता हतियार तथा गोली-बारुदसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले शुक्रबार जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका जिल्ला इन्चार्ज विक्रान्त भनिने दिलीप थारूलाई डुमरवाना-६ बाट पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो । विक्रान्तले डुमरवानाका मजदुर लीला लामिछानेको हत्या गरेको तथा फिरौती र चन्दा असुलीबाट जिल्लाभर आतंक मच्चाएको प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताए ।
'हामीले निगरानी र छापा मार्ने काम तीव्र पारेपछि सशस्त्रका कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन्,' उपरीक्षक महेन्द्र पोखरेलले भने । भारतीय सीमा सुरक्षाबलले पनि पछिल्लो समय शंकास्पदलाई चेक-जाँच कडा गर्न थालेपछि भूमिगत कार्यकर्ता चेपुवामा परेको प्रहरीको दाबी छ ।
यता, सशस्त्र प्रहरीले जिल्लामा सशस्त्र समूहका कार्यकर्ता, लुटेरा र हतियार बिक्री गर्ने १३ लाई हातहतियारसहित हालै पक्राउ गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ऋषभदेव भट्टराईले बताए । उनले पक्राउ परेकाबाट सातथान पेस्तोल, १५ गोली, एकथान बम र एक बन्दुकसमेत बरामद भएको जानकारी गराए ।
तीन साताअघि भारतीय प्रहरीले प्रकाश नेतृत्वका तराई मुक्ति मोर्चाका कबहीगोठ र बरियारपुर गाविसका तीन कार्यकर्ता दारा यादव, जयमंगल यादव र अन्य एकलाई अघिल्लो जिल्लाको सीमावर्ती भारतीय बजार छौडादानोमा हातहतियारसहित पक्राउ गरेको थियो । दुई साताअघि कलैया बजारमा तराई मुक्ति मोर्चाका कार्यकर्ताले अन्धाधुन्ध चलाएको गोलीबाट स्थानीय रामनन्द पटेल, देवनी साह र ६ वर्षीया प्रीतिकुमारी घाइते भएका थिए । त्यसको लगत्तै कलैया चोकमै बम पड्किँदा पासवती साह घाइते भएपछि प्रहरीले गस्ती र छापा मारी आक्रामक बनाएको छ ।
सम्भावित अपराध रोक्न र सूचनाका लागि जनपद र सशस्त्रका दुई दर्जनभन्दा बढी सादा पोसाकका प्रहरी साधन-स्रोतका साथ सीमाक्षेत्र र भूमिगत कार्यकर्ता लुक्न सक्ने ठाउँ परिचालन गरिएको प्रहरी स्रोतले बतायो । प्रहरीले गोप्य सूचनाका आधारमा सिसवा महेशपुरका सोनालाल साहको घरबाट राईफल, नलकटुवा बन्दुक, भरुवा बन्दुक, दुईथान गोली र सकेट बम बरामद गरेको थियो ।
प्रहरीले दुईसातायता गोइत समूहका कार्यकर्ता राजकुमार साह, ज्वाला सिंह समूहका बारुद सिंहलाई पक्राउ गरेको छ भने भलुबी गाविसका श्याम दासको घरबाट प्रेसर कुकर बम, दस किलो बारुद, गन्धक बरामद गरेको जनाएको छ । विशेष सुरक्षा योजना लागू भएयता बारामा आपराधिक क्रियाकलाप कमी ल्याउन विशेष धरपकड र पक्राउमा प्रहरी सफल हुँदै गएको यो पहिलो घटना हो । 

No comments: