News

Jul 30, 2010

माओवादीद्वारा मोर्चाका मागबारे लिखित प्रतिबद्धता तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ साउन,प्रधानमन्त्रीका लागि तेस्रोपटक हुने निर्वाचनमा समर्थन जुटाउन माओवादीले संयुक्त लोकतान्त्रिक मोर्चाको अवधारणापत्र कार्यान्वयनबारे लिखित प्रतिबद्धता तयार पारेको छ । गोप्य राखिएको प्रतिबद्धतापत्रलाई मोर्चाले सकारात्मक रूपमा लिने र समर्थन गर्ने माओवादी विश्वास छ ।मोर्चालाई बुझाउने प्रतिबद्धतापत्र तयार गर्न माओवादीले केही दिनदेखि गृहकार्य थालेको भए पनि बिहीबार बसेको पदाधिकारी बैठकले अन्तिम रूप दिएको हो । प्रतिबद्धतापत्र दिएपछि सरकार गठनमा मोर्चाको समर्थन हुने माओवादी अपेक्षा छ । प्रतिबद्धतापत्र भने माओवादीले मोर्चालाई बुझाइसकेको छैन ।
'हामीले तयार पारेको प्रतिबद्धतापत्र मोर्चाले सकारात्मक रूपमा लिने अपेक्षा गरेका छौँ,' माओवादी स्थायी समिति सदस्य सिपी गजुरेलले बिहीबार नयाँ पत्रिकासँग भने, 'उहाँहरू -मधेसवादी दल) ले राखेको माग सम्बोधन भएकै आधारमा समर्थन गर्ने हो भने हामीलाई समर्थन नगर्ने कारण देखेका छैनौँ ।'
माओवादीले मधेसी मोर्चाले अगाडि सारेका मुद्दासँग आफ्नो पार्टीका मुद्दा पनि नजिक रहेको, कांग्रेस र मोर्चाबीच आधारभूत विषयमा समेत भिन्नता रहेको भन्दै समर्थनको अपेक्षा गरेको छ । 'कांग्रेससँग मोर्चाको आधारभूत विषयमा नै मतभिन्नता छ,' माओवादी सचिवसमेत रहेका गजुरेलले भने, 'यस्तो अवस्थामा माग सम्बोधन गर्ने माओवादी नै हो ।'
आफ्नो उम्मेदवार विजय गराउन माओवादीलाई ६३ मतको खाँचो छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा फोरम, फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावनाका ८२ सभासद् छन् । मधेसी मोर्चाको समर्थनबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री चयन हुने सम्भावना रहेको माओवादीले जनाएको छ । 'यो सम्भावना पूरा गर्न सक्नुपर्छ भन्ने हाम्रो सोचाइ छ,' माओवादीका एक स्थायी समिति सदस्यले बताए ।
प्रतिबद्धतापत्रमा के छ ?
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विगतमा माओवादीले तयार पारेको सहमतिको आधारपत्र र मधेसी मोर्चासँग भएका छलफलका आधारमा प्रतिबद्धतापत्र तयार भएको बताए । मोर्चाले संविधान निर्माण, शान्तिप्रक्रिया र मधेसका मुद्दासमेत समेटिएको तीनबुँदे अवधारणापत्र सार्वजनिक गरेको थियो ।
माओवादीले मधेसी मोर्चाका मागमध्ये केही मुद्दामा असहमति राखेको छ भने केही मुद्दामा विकल्प दिएको स्रोतले बतायो । माओवादीले एक मधेस एक प्रदेश, सेनामा समूहगत प्रवेश, बहुलवाद, सेना समायोजनको अवधि र मापदण्डलगायतका विषयमा असहमति जनाएको छ ।
माओवादीले प्रतिबद्धतापत्रमा 'एक मधेस एक प्रदेश' नभई तराई मधेसभित्र एउटा 'मधेस प्रदेश' बनाउन सकिने संकेत दिएको छ । 'बहुलवाद' मा असहमति जनाउँदै माओवादीले बहुदलीय प्रतिस्पर्धामा आफ्नो सहमति रहने जनाएको छ । माओवादीले समायोजनको मापदण्ड अलग्गै हुने र सेना समायोजन संविधान घोषणपूर्व गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।
सेनामा समूहगत प्रवेशबारे पनि माओवादीको असहमति छ । सेनाको लोकतान्त्रीकरणसँग उसलाई समावेशीकरण गरेर लैजाने नीतिअनुसार समावेशीको सिद्धान्तका आधारमा मधेसी समुदायको प्रतिनिधित्व गराउने माओवादी भनाइ छ । समावेशी सिद्धान्तका आधारमा भर्ना गरेपछि सेनाभित्र मधेसी सेनाको छुट्टै इकाइ वा गण गठन गर्न सकिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
मधेसी मोर्चाको आवधारणापत्रमा सरकारले विगतमा मोर्चासँग गरेको आठबुँदे सहमतिको कार्यान्वयन, एक मधेस एक प्रदेश, राज्यका हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता, सेनामा समूहगत प्रवेश, संविधानसभाबाट आगामी चैतभित्र संविधान निर्माण, चार महिनाभित्र माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

No comments: