News

Jul 31, 2010

बैदेशिक रोजगारमा जानेलाई परिचयपत्रको व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रम तथा यातायात व्यवस्था मन्त्रालयले गैरकानुनी रुपमा बैदेशिक रोजगारमा जाने कार्य निरुत्साहित गर्न परिचयपत्र (आइडी कार्ड) को व्यवस्था गर्ने भएको छ।बैदेशिक रोजगारीका लागि जाने व्यक्तिलाई उसको परिचय खुल्ने कार्ड उपलव्ध गराइनेछ। यस्तो कार्ड सरकारी अनुमतिपत्र लिएर विदेश जाने कामदारले मात्र पाउने छन् ।परिचयपत्रमा कामदारको नाम, ठेगाना, उमेर उल्लेख गरिनेछ। पठाउने कम्पनीको नाम, ठेगाना, गएको मुलुक, लिने कम्पनी वा म्यानपावर एजेन्सी, कामको किसिमसमेत परियचपत्रमा उल्लेख गरिनेछ।श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद अफ्ताव आलमले परिचयपत्र वितरणपछि गैरकानुनी रुपमा विदेश जाने प्रवृत्तिमा सुधार आउने विश्वास गरेको बताएका छन् ।अहिलेसम्म विदेश जाने कामदारका लागि राहदानीबाहेक अन्य परिचय खुल्ने कागजात दिइने गरिएको छैन । राहदानीमा सबै कुरा उल्लेख नहुने र सधैं बोकेर हिंड्दासमेत सहज नहुने भएकाले छुट्टै परिचयपत्र उपलव्ध गराउन लागिएको हो । उक्त परिचयपत्र कामदारले सधैं बोकेर हिड्न मिल्ने प्रकारको बनाइनेछ।पछिल्लो तथ्याङ्कअनुसार करिब १७ लाख नेपाली सरकारी स्वीकृति लिएर विश्वका विभिन्न मुलुकमा काम गर्न पुगेका छन् । गैरकानुनी रुपमा जानेको संख्या पनि यही हाराहारीमा रहेको अनुमान गरिएको छ। गैरकानुनी रुपमा विदेशिने कामदारबाट सरकारले राजश्व लिन सक्दैन । यस्ता कामदारको विदेशमा मृत्यु भए वा अंगभंग भएमा सरकारले राहत तथा क्षतिपुर्ति पनि उपलव्ध गराउंदैन । अधिकांश नेपालीहरु भारतीय मार्ग हुँदै गैरकानुनी रुपमा तेस्रो मुलुक पुग्ने गरेका छन् ।

No comments: