News

Jul 9, 2010

लिम्बुवान क्षेत्रबाट गैरलिम्बू पलायन हुने क्रम बढ्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ, असार २५,पूर्वी लिम्बुवान क्षेत्रबाट गैरलिम्बू पलायन हुने क्रम बढ्दो छ। ताप्लेजुङको खाम्लुङ गाविसबाट मात्रै यस वर्ष पाँच परिवार झापा बसाइँ सरेका छन्। स्थानीय कर्णाखर भण्डारी, बृहस्पति गौतमलगायतका परिवार बसाइँ सरेपछि उक्त गाउँमा गैरलिम्बूको परिवार संख्या पाँच मात्रै बाँकी छ। उनीहरू पनि कम मूल्यमा भए पनि जग्गा बिक्री भए तराईतिर सर्ने मनस्थितिमा छन्। लिम्बूवान क्षेत्र भनिएको ताप्लेजुङ, पाँचथर, तेह्रथुमबाट गैरलिम्बूको बसाइँ सर्ने क्रम तीव्र भएको हो। सदरमुकामको तुलनामा ग्रामीण बस्तीमा बसोबास गर्दै आएका गैरलिम्बूहरू बसाइँ सर्ने क्रम तीव्र बनेको हो।। केही वर्षयता बहुजातिको बसोबास रहेको लिङतेप, थुकिम्बा, खाम्लुङ गाविसमा अहिले गैरलिम्बूको संख्या अत्यन्तै न्यून बन्दैछ।'सदरमुकामदेखि सात घण्टाको दूरीमा रहेको खाम्लुङ गाविसबाट मात्रै यो वर्ष पाँच परिवार हिँडेपछि हामी पनि जग्गा बिक्री भए उँधै झर्ने मनस्थितिमा छौँ,' स्थानीय बालकुमार न्यौपानेले भने।धेरै परिवार थियौं, अब त पाँच/छ मात्रै छौं, हाम्रो संस्कारअनुसार मर्दापर्दा पनि समस्या हुँदोरहेछ,' उनले भने। बसाइँ हिँडेका परिवार अधिकांश झापा, मोरङ, सुनसरी सरेका छन्। कतिपय सदरमुकामआसपास क्षेत्र दोखु, फुङलिङ सरेका छन्। लिम्बू जातिको बाहुल्य रहेको र प्रस्तावित संघीय राज्यमा लिम्बूवान राज्यको प्रस्ताव गरिएको यस क्षेत्रका गैरलिम्बूहरू असुरक्षाले बस्न नसकेको बताउँछन्।'जातीय हिसाबले हाम्रो संख्या पनि कम हुँदै गयो, लिम्बूजातिका कुराले हामीलाई मनोवैज्ञानिक असर परेको छ,' झापा बसाइँ सरेका डिल्लीराम पौडेलले टेलिफोनमा भने। बाहुन भनेर हेप्न खोज्ने र किपटको कुरा गर्नाले पनि आफुहरू त्रसित बनेको अनुभव गैरलिम्बूको छ। २००७ सालको झैं 'बाहुन खेदाउ' अभियान चल्ने त्रास गैरलिम्बूमा छ।लिङ्तेपका श्याम नाल्बो गैरलिम्बूलाई लिम्बूले हेप्ने गरेकाले बसाइँ सराइ बढेको बताउँछन्।लिम्बुवान राज्य माग गर्दै सक्रिय क्षेत्रीय पार्टीका कार्यकर्तामा जातीय प्रशिक्षण पर्याप्त नहुनाले गैरलिम्बूहरू बसाइँ सर्ने क्रम बढेको अनुभव गैरलिम्बूको छ। 'लिम्बूवानमा लागेका कतिपय कार्यकर्ताले लिम्बूवान आएपछि यो लिम्बूको मात्रै ठाउँ हो भन्ने बुझेका छन्,' जिल्लास्तरीय एक नेताले भने।तर मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्यपरिषद्का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज कीर्तिमान मादेन पार्टीको नीतिमा जातीय विभेद नभएको बताउँछन्। उनले भने, 'हाम्रो कुनै कार्यकर्ताले कसैलाई जातीय रूपमा थिचोमिचो गरेको भए कारबाही गर्छौं।'

No comments: