लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५- एकीकृत माओवादीले अन्य दल सहमत भए नयाँ सरकारमा मधेसवादी दलको नेतृत्व मान्न सकिने बताएको छ। बिहीबार सिंहदबारमा सत्तारुढ गठबन्धनका तीन मधेसवादी दलसँगको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो धारणा राखेका हुन्। 'अरु पार्टी सहमत हुन्छन् भने मधेसवादीलाई पनि सहमतिको सरकारको नेतृत्व दिन सकिन्छ,' बैठकमा दाहालको भनाइ उद्धृत गर्दै सद्भावना पार्टीका सहअध्यक्षसमेत रहेका विनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले नागरिकसँग भने। कांग्रेस र एमाले यथास्थितिवादी शक्ति भएकाले परिवर्तनका पक्षधर मधेसवादी र माओवादी मिलेर जानुपर्ने दाहालको भनाइ थियो। 'ठूलो पार्टी भएर पनि हामी राष्ट्रपति, संविधानसभा अध्यक्ष, संवैधानिक समिति सभापति छैनौं,' दाहालले भने, 'त्यसकारण राष्ट्रिय सरकारको नेतृत्व माग गरेका हौं।' माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताए पनि दाहालले पार्टीका तर्फबाट को प्रधानमन्त्री बन्ने भन्नेबारे बोलेनन्। यसअघि बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्ने मधेसी नेताहरू पनि यसबारे छलफल गरेनन्।तराई-मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलमा भएको छलफलमा माओवादी उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि थिए।
No comments:
Post a Comment