News

Jul 17, 2010

नेपालभर कर्कट सङ्क्रान्ति अर्थात् साउने सङ्क्रान्ति पर्व

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज नेपालभर कर्कट सङ्क्रान्ति अर्थात् साउने सङ्क्रान्ति पर्व स्नान, दान, तपस्या, होम, श्राद्ध आदि विशेष कार्यको प्रारम्भ गरी मनाइँदै छ । सौरमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कटसङ्क्रान्ति भनिएको हो ।हिन्दूधर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन रहेको छ ।आजका दिन असारे वर्षात्, हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन अनुरूप यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ ।कण्डारक नामक राक्षसको फलफूल, नैवेद्य चढाएर पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिँदैन ।यस वर्षको साउन महिनामा पाँचवटा सोमबार पनि परेकाले पुत्र नभएकालाई पुत्र प्राप्ति हुने, निर्धनलाई धन प्राप्ति हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वासअनुरूप शिवभक्तहरूले व्रत आरम्भ गरी शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

No comments: