News

Jul 30, 2010

प्रहरीले हाकिमको घरमा छापा मार्ने र दोषीलाई कारबाही गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ साउन,सत्य सेवा सुरक्षणम् भन्दै नागरिकको सुरक्षा गर्ने कसम खाएका हजारौँ प्रहरीले हाकिमको घरमा बाथरुम सफा गर्ने र 'म्याडम'को वस्त्र धुने गरेको धेरै वर्ष भइसक्यो । प्रहरी संगठनभित्रको यो अत्याचारविरुद्ध गृह-प्रशासनले अब छापा मार्ने र दोषीलाई कारबाही गर्ने तयारी गरेको छ । प्रहरीका उच्च अधिकारीका घरमा नियमविपरीत राखिएका प्रहरी कामदार पत्ता लगाउन गृह-प्रशासन आफैंले छापा मार्ने तयारी गरेको हो । छापा मार्दा कसैको घरमा प्रहरीलाई घरेलु कामदार पाइएमा त्यस्ता प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्ने तयारीसमेत गृहले गरेको छ । राज्यको ढुकुटीबाट तलब खाने प्रहरी जवानलाई प्रहरीकै उच्च अधिकारीले विभिन्न बहानामा आफ्नो घरमा कामदारको रूपमा राख्दै आएका छन् । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बारम्बार पत्र लेखी घरेलु कामदार हटाउन निर्देशन दिए पनि पालना नभएपछि मन्त्रालय आफैं छापा मार्ने तयारीमा जुटेको हो । प्रहरी नियमले पनि अधिकृतहरूलाई कम अधिकार दिएको छैन । उनीहरूले प्रहरी जवानलाई व्यक्तिगत सुरक्षा, ड्राइभिङ तथा क्वाटरको काममा लगाउन पाउँछन् । तर, त्यतिले नपुगेर प्रहरीका उच्च अधिकारीहरूले विभिन्न बहानामा घरमा लगी घरेलु कामदारको रूपमा प्रयोग गरिरहेका छन् ।

No comments: