News

Jul 12, 2010

एक दम्पतीलाई बोक्सीको आरोपमा मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, असार २९- एक साताअघि यहाँ हत्या गरिएका एक दम्पतीलाई बोक्सीको आरोपमा मारिएको प्रहरीले बताएको छ। झाँक्री टेकेन्द्र बिष्टले बोक्सी किटान गरेपछि स्थानीयले दाङ सतबरिया-२ वनघुस्रीका ४५ वर्षीया मनशोभा गुरुङ र उनका श्रीमान् ५५ वर्षीय वरदान गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या आरोपमा झाँक्रीसहित तीनलाई पक्राउ गरेको छ। सतबरिया-२, वनघुस्रीका रमेश नेपाली, जयराम नेपाली, चन्द्रबहादुर नेपाली र शिवप्रसाद चौधरी पक्राउ परेका प्रहरीले जनाएको छ। गढवा-३ का २४ वर्षीय झाँक्री बिष्ट पनि प्रहरी नियन्त्रणमा छन्। हत्या गरिएका गुरुङ दम्पतीका तीन छोरा, एक छोरी र एक बुहारी छन्। हत्याका मुख्य आरोपी मानिएका वनघुस्री-२ का मेघराज नेपाली र उनकी पत्नी विमला भने फरार छन्।
मेघराजकी श्रीमती विमला केही दिनदेखि बिरामी थिइन्। लामो उपचारपछि विमलालाई बिसेक नभएपछि मेघराजले घरमा झाँक्री बोलाएर झारफुक गराएका थिए। असार १८ गते गढवाका झाँक्री टुकेन्द्र बिष्टले बिरामीलाई झारफुक गरेपछि गुरुङ दम्पतीलाई बोक्सी ठहर्‍याएको इलाका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख हरिदास श्रेष्ठले बताए।
आक्रोशित मेघराजले गुरुङ दम्पतीलाई मार्ने योजना बनाएका थिए। पछि आफ्ना भाइहरूको सहयोगमा उनले गुरुङ दम्पतीको हत्या गरेको प्रहरीले जनाएको छ। असार २१ गते बिहान प्रहरीले मनशोभा गुरुङलाई घरदेखि केही पर तथा उनका श्रीमान्लाई गोठमा झुन्ड्याएको अवस्थामा फेला पारेको थियो।
बोक्सीको आरोप लगाएर दम्पतीको हत्या गरिएको जिल्लामा पहिलो घटना भएको इलाका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख हरिदास श्रेष्ठले बताए।

No comments: