News

Jul 22, 2010

शिक्षा परिषदले अनियमितता गरेको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले उत्तर पुस्तिका छपाईको क्रममा उच्च माध्यामिक शिक्षा परिषदले अनियमितता गरेको ठहर गरेको छ। समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उत्तर पुस्तिकाको टेन्डरमा अनियमितता भएको विषयमा शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदनमाथि छलफल भएपछि समितिले यस्तो निष्कर्ष निकालेको हो।समितिले अनियमितता गरेको भन्दै परिषदका उपाध्यक्ष, सदस्य सचिव र लेखा प्रमुखलाई कारवाही गर्नका लागि सरकारलाई निर्देशन दिएको छ। कर्मचारीको मिलेमतोमा अनियमितता भएको भन्दै प्रचलित कानुन अनुसार कारवाही गर्न निर्देशन दिइएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो।समितिले आजको बैठकमा उच्चमाध्यामिक शिक्षा परिषदका उपाध्यक्ष उपेन्द्र कोइरालासँग स्पष्टिकरण लिएको छ। समितिका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै कोइरालाले शिक्षा मन्त्रालयले गठन गरेको छानविन समितिले गलत प्रतिवेदन बनाएको बताउनु भएको थियो। समितिले जवाफ चित्त बुझ्दो नभएको भन्दै शिक्षा मन्त्रालयको प्रतिवेदनको आधारमा कारवाहीको सिफारिस गरेको हो।लेखा समितिले थप छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। यसअघि समितिले उत्तर पुस्तिका गुणस्तरहिन भएको र आवश्यकता भन्दा कम भएको विषयमा शिक्षा मन्त्रालयलाई आयोग गठन गरी छानविन गर्न निर्देशन दिएको थियो।

No comments: