News

Oct 2, 2008

प्रमुख तीन राजनीतिक पार्टीबीच सैद्धान्तिकरूपमा मतभेद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनादेशबमोजिमको संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका मुलुकका प्रमुख तीन राजनीतिक पार्टीबीच सैद्धान्तिकरूपमा मतभेद देखिएको छ । रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेकपा माओवादीका नेता सिपी गजुरेलले जनगणतन्त्र, नेपाली कांग्रेसका डा.मीनेन्द्र रिजालले संघीय लोकतान्त्रिक गणतन्त्र र नेकपा एमालेका भीम रावलले जनताको बहुदलीय जनवादका पक्षमा आफूहरू रहेको बताउनुभयो ।सत्ताको नेतृत्व गर्ने नेकपा माओवादी र सत्तारुढ घटकमध्येको सबैभन्दा ठूलो पार्टी एमालेकै बीच संविधान निर्माणपूर्व सैद्धान्तिक दृष्टिकोणबाट स्पष्ट मतभेदबाहिर आउनु र नेपाली कांग्रेस पुरानै अडानमा टसकामस रहनुले घोषित मितिमा जनादेशअनुरूपको संविधान नहुने हो कि भनी चिन्ता व्यक्त गरिएको छ ।साक्षात्कारमा माओवादी नेता गजुरेलले अब संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा गम्भीर बहस सुरु हुनुपर्ने धारणा व्यक्त गर्दै आफूहरू जनगणतन्त्रका पक्षमा रहेको स्पष्ट गर्नुभयो । कांग्रेस नेता डा.रिजालले पार्टीको प्राथमिकता सरकार नभइ लोकतान्त्रिक संविधान लेख्ने भएको उल्लेख गर्दै संविधान लेख्ने नेतृत्व पाएको माओवादी पार्टी त्यसतर्फ नभइ राज्यसत्ता कब्जा गर्नेतर्फ लागेको आरोप लगाउनुभयो ।एमाले नेता भीम रावलले जनताको बहुदलीय जनवादका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रसहित दिगो शान्ति र समृद्ध नेपालका पक्षमा आफूहरू रहेको बताउँदै अब निर्माण हुने संविधानमार्फत मुलुकमा जनगणतन्त्र स्थापना हुन सक्दैन भन्नुभयो ।

No comments: