News

Oct 6, 2008

राजनीति तोडेर राष्ट्रियतालाई कमजोर पारेको आरोप - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेकपा माओवादीले सहमतिको राजनीति तोडेर राष्ट्रियतालाई कमजोर पारेको आरोप लगाउनुभएको छ । राष्ट्रियताको जग एकता, मेलमिलाप र सहमतिमा आधारित हुन्छ भन्दै उहाँले तर माओवादीले सहमतिको राजनीतिलाई तोडेर राष्ट्रियतालाई कमजोर बनाउने खेल खेलेको बताउनुभयो । दुइ दिनअघि गृहनगर विराटनगर पुग्नुभएका कोइरालाले मोरङ कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
सहमतिलाई तोडेर माओवादीले राष्ट्रियताको कुरा गर्नु निरर्थक रहेको उल्लेख गर्दै कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउन सवै राजनीतिक दल सहमतिमा पुग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सवै दललाई सहमतिमा ल्याउन माओवादीले नै पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डलाई बढी हावादारी कुरा नगर्न सुझाव दिदै कोइरालाले गर्न सक्ने कुरामात्र बोल्न आग्रह गरे ।
कोइरालाले कांग्रेस र त्यसका भातृ संगठनहरु तरुण दल, महिला संघ, ट्रेड युनियन कांग्रेस र नेपाल विद्यार्थी संघले आफनो इतिहास बिर्सिएका कारण पार्टी अहिलेको संकटपूर्ण स्थितिमा आइपुगेको बताउनुभयो । सोही भेलामा बोल्दै कांग्रेस केन्दिय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री प्रचण्डको दुइमुखे बोलीले लोकतन्त्र संकटमा परेको उल्लेख गर्नुभयो । यसैगरी केन्द्रिय सदस्यहरु ज्ञानेन्द्र कार्की र डा. शेखर कोइरालाले माओवादी सरकारले संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने काम विलम्व गरेकोमा रोष व्यक्त गरे ।

No comments: