News

Oct 3, 2008

गोर्खालीले अलग पहिचान बनाउनुपर्ने - रक्षामन्त्री बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा 'बादल' ले गोर्खालीले राष्ट्रिय, जातीय र लैंगिक चेतना अभिवृद्धि गरी आफ्नो अलग पहिचान बनाउनुपर्ने बताउनुभएको छ । गोर्खा व्यवसाय संघको प्रथम उपत्यका भेलाको राजधानीमा उद्घाटन गर्दै उहाँले गोर्खाली पीडाबाट आफू पनि मुक्त छैन भन्नुभयो ।मन्त्री बादलले नेकपा माओवादीले गोर्खा भर्ती केन्द्र बन्द गर्दैछ भन्ने भ्रम सिर्जना गर्न खोजिएको छ भन्दै हामी पुरानो गोर्खा भर्ती केन्द्र खारेज गरी बेलायत, भारत, विश्व बैंक र एसियाली विकास बैंकहरूसँग राष्ट्रिय हितलाई ध्यान दिई समान तलब र सुविधा सम्मानका आधारमा नयाँ सन्धि, सम्झौता गर्न चाहन्छौं भनी स्पष्ट पार्नुभयो ।'गुलामीको गन्ध आउने डलर र पाउण्ड हामीलाई चाहिएको छैन' रक्षामन्त्रीले भन्नुभयो । उहाँले उपेक्षित र पिछडिएको गोर्खा शब्दको पहिचानको परिवर्तनका लागि नै आफूले विद्रोह गर्दै हतियार उठाएको उल्लेख गर्नुभयो । रक्षामन्त्री बादलले राष्ट्रिय अखण्डताको बाधक रहेको असमान सन्धिहरू पुनरवलोकन गर्न प्रधानमन्त्रीले भारतसमक्ष प्रस्ताव गरेको पनि बताउनुभयो ।कार्यक्रममा पूर्वसांसद दीपकबहादुर गुरुङले गोर्खा भर्तीको प्रस्तावमा सरकार मौन बस्नुपर्ने धारणा राख्नुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले गोर्खा सैनिकले संगठितरूपमा व्यवसायका लागि अघि बढेमा मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो ।

No comments: